काठमाडौं । वर्ल्ड कार अवार्डले ‘२०२३ वर्ल्ड कार अफ दी इयर अवार्ड’को लागि शीर्ष तीन फाइनलिस्टको नाम घोषणा गरेको छ । आयोजकले कार अफ दी इयरसँगै प्रत्येक विधाका शीर्ष तीन मोडलको नाम पनि सार्वजनिक गरेको हो ।
गत महिना शीर्ष सम्मानका लागि वर्ल्ड कार अवार्डले १० फाइनलिस्टको सूची सार्वजनिक गरेको थियो । त्यसमध्ये, नयाँ बीएमडब्लु आईएक्स१, हुन्डाईको आयोनिक ६ र किया निरो शीर्ष तीनमा परेका हुन् ।
विश्वकै उत्कृष्ट कार विधामा छनोट भएका तीनवटै मोडल इलेक्ट्रीक हुन् । यसले विद्युतीय गाडी प्रति उत्पादकको लगावलाई पनि पुष्टि गर्छ ।
वर्ल्ड कार अफ दी इयरसँगै वर्ल्ड अर्बन कार २०२३ को लागि पनि तीन कार सिट्रोन सीथ्री, फक्सवागन टाइगुन र ओरा फन्की क्याट मोडल छनोट भएका छन् ।
त्यसैगरी, वर्ल्ड लक्जरी कार २०२३ क्याटगोरीमा बीएमडब्लु७ सिरिज/आई७, लुसिड एयर र जेनेसिस जी९० छनोट भएका छन् । साथै, वर्ल्ड पर्फर्मेन्स कार २०२३ अवार्डको लागि किया ईभी६ जिटी, निसान जेड र टोयोटा जीआर कोरला फाइनलिस्ट बनेका छन् ।
यसैबीच २०२३ वर्ल्ड इलेक्ट्रीक भेहिकलमा बीएमडब्लु आई७, हुन्डाई आयोनिक६ र लुसिड एयर फाईनलिस्ट बनेका छन् ।
उत्कृष्ट कार डिजाइन अफ दी इयर २०२३मा आयोनिक फाइभ, रेन्ज रोभर र लुसिड एयरको नाम टप थ्रीमा घोषणा गरिएको छ । यी मध्येबाट हरेक विधामा एउटा मोडलले अवार्ड हात पर्ने छन् ।
वर्ल्ड कार अवार्डको विजेता मोडलको नाम अप्रिल ५ मा ‘न्यूयोर्क मोटर शो’को दौरान घोषणा गरिने छ । यस अवार्ड कार्यक्रमको निर्णायक समुहमा ३० भन्दा बढी देशका १०० प्रतिष्ठित अटोमोटीभ पत्रकार समावेश छन् ।

