नेटाको नयाँ एसयूभी ‘एक्स’, टेक र फिचर लाेडेड हुने

काठमाडौं । चीनको ‘न्यू इनर्जी भेहिकल’ निर्माता होजोन अटाेले नयाँ इलेक्ट्रीक एसयूभी ‘नेटा–एक्स’को इन्टेरियर सार्वजनिक भएको छ । कम्पनीले नेटा यू–२को सट्टामा नेटा–एक्स बजारमा ल्याउन लागेको हो ।

यसलाई नेटा यू–२को फेसलिफ्ट मोडलको रुपमा पनि लिन सकिन्छ । तर, कम्पनीले यसको नाम नै परिवर्तन गरेकाले यो कम्पनीको नयाँ मोडल हो । होजोन मोटर्सले नेटा–एक्सको उत्पादन समेत सुरु गरिसकेको बताइन्छ ।

निकै स्टाइलिस डिजाइनमा तयार भएको नेटा एक्सको बम्परमा हाइबीम लाइटसँगै पातलो एलइडी रनिङ लाइटको प्रयोग भएको छ । यसमा नेटा यूको जस्तै फ्रन्ट लोअर पार्टसमा ठूलो साइजको ट्रापेज सेपको ग्रिल दिइएको छ ।

नेटा–एक्सको लम्बाई ४६१९ एमएम, चौडाई १८६० एमएम र उचाई १६२८ एमएम रहने छ । यसमा २७७० एमएम लामो ह्वीलवेस पाउने छन् । यसको लम्बाई नेटा यूको भन्दा ७० एमएमले लामो रहेको छ ।

नेटा एक्समा ईभीई पावरले बनाएको एलएफपी ब्याट्री रहेको छ । यो एसयूभीमा निग्वो फाइसिस् टेक्नलोजीले बनाएको १२० किलोवाटको मोटर जडान भएको छ ।

नेटा एक्सको इन्टेरियरमा नेटा यूमा रहेका कनेक्टेड दुईवटा स्कृनको सट्टामा ड्यासबोड्को बीचमा १३ इन्चको फ्लोटिङ एलसीडी मोनिटर दिइएको छ । त्यस्तै टुस्पोक स्टेरिङ ह्वीलको सट्टामा थ्री स्पोक स्टेरिङ ह्वील पाउन सकिन्छ ।

स्टेरिङ ह्वीलको पछाडि सानो साइजको एलसीडी इन्ट्रुमेन्ट प्यानल दिएको छ । सेन्टर कन्सोलमा वायलेस चार्जिङ प्याड, दुईवटा कप होल्डर रहेको देखिन्छ ।

नेटा–एक्सको उत्पादन सुरु भएका कारण चिनियाँ बजारमा छिटै यसको बिक्री सुरु हुने अनुमान गरिएको छ । नेपालमा पनि नाडा अटोशोमा नेटा यूको प्रदर्शन गरिएको थियो ।

नेपालका लागि होजोन मोटर्सको आधिकारीक वितरक सीजी अटोमोवाइले नेटा यू चाँडै नेपाल ल्याउने भन्दै बुकिङसमेत लिएको छ ।

 


Back_to_top