बाइक छाड्दै, कार चढ्दै !

काठमाडौं । नेपालमा साना कार भनेकै २५/३० लाख मूल्य पुगेको समयमा इलेक्ट्रीक सिटी कारले नयाँ सेग्मेन्ट नै निर्माण गर्न थालेको छ । पेट्रोलियम पदार्थबाट चल्ने सबैभन्दा सस्तो मोडल रहेको मारुती सुजुकी अल्टो नै २४ लाख हाराहारी मूल्य पुगेसँगै सस्तो कार खोज्नेलाई कठिन भएको थियो ।

साना र सहर केन्द्रित इलेक्ट्रीक कारहरु मोटरसाइकल छाडेर कार रोज्नेको लागि उपयुक्त विकल्पको रुपमा बजारमा आएका छन् । मूल्यका हिसावले सस्तो, संचालन खर्च मोटरसाइकलभन्दा पनि निकै कम र चलाउन पनि सहज भएको कारण धेरैले साना ईभी किन्न खोजेको देखिन्छ ।

‘छोरीले स्कुटर माग गरेकी थिइन् । स्कुटर जोखिम लागेर किनेको थिइन । बजारमा १३ लाखदेखि कै इलेक्ट्रीक कार उपलब्ध भएपछि छोरीलाई लिएर हेर्न आएको छु । अटो शोपछि एमजी कोमेट किन्ने विचार गरेँ’, कलंकीका हरिशरण पौडेलले सुनाए ।

अधिकांश साना ईभी किन्ने योजना बनाउनेहरुले मोटरसाइकल वा स्कुटरको विकल्पमा सुरक्षीत ठानेर मिनी ईभीमा आकर्षित भएको नाडा अटो शोमा देखिन्थ्यो ।

विद्युतीय कार सेग्मेन्टमा आएको टाटा टियागोले नेपालको ह्याचव्याक कारको बजार नै फर्काएको मान्न थालिएको छ । साथै, सेरेस ई–१ र एमजी कोमेटको मूल्यले नेपालमा साना कारको नयाँ सेग्मेन्ट नै निर्माण गरेको बताइन्छ ।

‘विद्युतीय साधनमा बढ्दो क्रेज र कम्पनीहरु बीच भइरहेको तिब्र प्रतिस्पर्धाले साना कारको सेग्मेन्ट नै तयार भएजस्तो देखियो । यसले थोरै रकम खर्च कटाएर भएपनि कार चढ्छु, भन्नेहरुको लागि राम्रो अवसर देखियो’, नाडा अटो शो २०२३ भ्रमण गर्न आएका ऊर्जामन्त्री शक्तिबहादुर बस्नेतले भने ।

नाडा अटो शोमा कार सेग्मेन्टमा जुन किसिमको भिड थियो, त्यो मोटरसाइकलमा हुन सकेन । जबकी कार ब्राण्ड १६ र मोटरसाइकल ब्राण्ड २३ वटाले अटो शोमा भाग लिएका थिए ।

यसअघि पनि साना कारमा महिन्द्राले ईटुओ बिक्री गरेको थियो । अहिले पनि ईटुओ चलाउने थुप्रै सन्तुष्ट ग्राहक भेटिन्छन् । त्यसमाथि अहिले आएका कारहरु निकै आधुनिक डिजाइन र फिचरले भरिपूर्ण रहेका छन् ।

बलियो पक्ष नै मूल्य

नेपालमा करिब १ वर्षअघि घोषणा भएको विलिङ ब्राण्डले सुरुमा नै २५ र ३१ लाख मूल्य राखेर बिक्री सुरु गरेको एयर मिनी ईभीको मूल्य अहिले घटाएको छ । रणनीतिक रुपमा असफल मुभ गरेको विलिङको बिक्रेता ईभी नेपाल मोटर्सले अन्य ब्राण्डका मिनी ईभी आउने भएपछि आफ्नो मूल्यमा ब्यापक कटौती गरेको छ ।

उसको मूल्य कटौतिले ग्राहकलाई आकर्षण भने गर्न सकेको छैन । कम्पनीले अहिले मूल्य घटाएर २१ लाख र २७ लाख बनाएपनि ग्राहकको रोजाईमा विलिङ पर्न सकेको छैन ।

विलिङ जस्तै समान डिजाइन, फिचर र लुक्समा आएको एमजी कोमेटले भने सुरुवातमै धेरै मानिसलाई आकर्षित गर्न सफल भएको छ । एमजीका ईभी नेपालमा यसअघि पनि लोकप्रिय रहेको कारण कोमेट पनि सुरुबाटै चर्चा पाउन सफल भएको हो । कम्पनीले यसको मूल्य १८ लाख २१ लाख रुपैयाँ निर्धारण गरेर बिक्री सुरु गरेको छ ।

सेरेर ई–१ मूल्यको कारण नै सर्वाधिक चर्चा कमाउन सफल मोडल हो । कम्पनीले यसको मूल्य १३ लाख ९९ हजार रुपैयाँदेखि १७ लाख ९९ हजार रुपैयाँसम्म राखेर बुकिङ लिइरहेको छ । निकै आकर्षक देखिने दुई ढोके यो मिनी कार नाडा अटो शोमा राम्रो संख्यामा बुकिङ भएको कम्पनीको भनाई छ ।

साना कारको बजारमा गेमचेन्जर मोडलको रुपमा टाटा टियागो ईभी बजारमा आएको छ । टियागो २१ लाख ९९ हजारदेखि २७ लाख ९९ हजार रुपैयाँसम्म मूल्य तोकेर नाडामा बुकिङ लिइएको थियो । अटो शोमा सबैभन्दा धेरै बुकिङ भएको मोडल मध्येको एक टियागो ईभी हो ।

रेन्ज

कम्पनी अनुसार यी मिनी ईभीको रेन्ज १८० देखि ३१५ किलोमिटरसम्म दावी गरिएको भएपनि सडकमा चलाउँदा १४० देखि २२० किलोमिटरसम्म रेन्ज पाउन सकिने अवस्था छ ।


Back_to_top