काठमाडौं । झण्डै एक हप्ता लामो नाडा अटो शो २०२३ सम्पन्न भएको छ । आयोजकका अनुसार ७६ हजारभन्दा धेरै मानिसले अवलोकन गरेको नाडा अटो शोमा ४ चाङ्ग्रे साधनमा बढी क्रेज देखियो । तर, मोटरसाइकलका स्टलमा खासै मानिसको ध्यान केन्द्रित भएन ।
मुख्य हलभन्दा बाहिर डोममा लगाइएको मोटरसाइकलका स्टलमा धेरै मानिसले अवलोकनको लागि पुग्नै सकेनन् । दुई वटा ठूला डोममा कार, लाइट कमर्शियल, कम्पोनेन्ट र मोटरसाइकलका स्टल थिए ।
गर्मी, साना साना स्टल र नयाँ प्रोडक्टको अभाव मोटरसाइकल सेग्मेन्टमा देखियो । विशेषगरी रोयल इनफिल्ड, होन्डा, जोन्टेस, टीभीएस र सेगवेका स्टलमा मानिस देखिएपनि अन्य ब्राण्डका स्टल लगभग खाली थिए ।
विशेषगरी रोयल इनफिल्डको स्टलमा सबै दिन भिड देखियो । कम्पनीले हन्टर र क्लासीक ३५० को अपडेटेड भर्सन सार्वजनिक गरेर अवलोकनकर्ता आकर्षित गर्न सफल भयो ।

त्यस्तै आफ्नो एउटा मात्रै मोडल देखाएर अवलोकनकर्ता तान्न सफल ब्राण्ड बन्यो होन्डा । होन्डाले अटो शोमा डिओ १२५ सार्वजनिक गरेको थियो । ६ दिन चलेको यो अटो शोमा होन्डा डिओमा ग्राहकको भिड नै लाग्यो ।
नयाँ डिजाइन र पावरफुल इन्जिनमा आएको होन्डा डिओ १२५ ग्राहकले मन पराए । डिओ बाहेक एसपी १२५ प्रदर्शन गरेको कम्पनीले अन्य मोडलका मोटरसाइकल र स्कुटर अटो शोमा प्रदर्शनी नै गरेन ।
त्यस्तै नयाँ सेग्मेन्टमा मोटरसाइकल विक्री गर्ने जोन्टेसको स्टलमा अवलोकनकर्ताको चहल पहल देखिन्थ्यो । नौलो डिजाइन र आर्कषक लुक्सका जोन्टेस ब्रान्डको १२५ सीसीको नयाँ मोटरसाइकल अटो शोमा सार्वजनिक गरिएको थियो ।
त्यस्तै इलेक्ट्रीकतर्फ याडिया र सेगवेको स्टलमा अवलोकनकर्ताको राम्रो उपस्थिति देखियो । त्यस बाहेक अन्य दुई पाङ्ग्रेको स्टलले खासै अवलोकन कर्ताकोध्यान खिच्न सकेन ।
बजाजले नाडा अटो शो २०२३ कुनैपनि नयाँ प्रोडक्ट सार्वजनिक गरेन । त्यस्तै टीभीएसले नयाँ प्रडक्टका रुपमा प्रर्दशन गरेको रोनीनको मूल्य निर्धारण नभएका कारण टीभीएस स्टलको आर्कषण बन्न रोनीन सफल भएन । साथै, टीभीएस आइक्यूव इलेक्ट्रीकमा ग्राहकको रुची देखियो ।
त्यसैगरी, जावा, येज्दी, सुजुकी, बेनेली जस्ता ब्रान्डले कुनै पनि नयाँ उत्पादन प्रदर्शन गरेरनन् । कम्पनीले पुरानै मोडल प्रदर्शनी गरेको कारण अवलोकनकर्ताले खासै चासो दिएनन् ।

