काठमाडौं । निषेधाज्ञा खुकुलो हुँदै गएसँगै धमाधम नयाँ मोडलका कार नेपाल आउन सुरु गरेका छन् । विशेषत हुन्डाई, सुजुकी, सिट्रोन, ग्रेटवाल, रेनो, टाटा, स्कोडा, प्रोटोन र माज्दाले नयाँ मोडलका कार बजारमा ल्याउन सुरु गर्दैछन् ।
लकडाउन खुकुलो भएर शोरुम संचालनमा आउन थालेसँगै हुन्डाईले दुई नयाँ मोडल बजारमा ल्याएको छ । हुन्डाईको आधिकारीक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले आफ्ना दुई प्रिमियम एसयूभी नेपाल ल्याएको हो । विश्व बजारमा सफलता पाइरहेको प्यालिसेड र शान्ता–फेको फेसलिफ्ट मोडल नेपाल आइसकेको छ ।
हुन्डाई शान्ता फे फेसलिफ्ट मोडल हो भने प्यालिसेड पूर्णत नयाँ मोडल हो । कम्पनीले पहिले पटक पेट्रोल इन्जिनमा ल्याएको शान्ता–फे जिएलएस अटोमेटिक (एटी) भेरियन्टको मूल्य १ करोड ६८ लाख ९६ हजार तोकेर विक्री सुरु गर्ने तयारी गरेको छ । यसको डिजेल भेरियन्ट भने कही दिनपछि आउने कम्पनीले जनाएको छ ।
हुन्डाई प्यालिसेड दुई भेरियन्टमा नेपाल आउने छ । प्यालिसेडको जीएल भेरियन्टको मूल्य १ करोड ९४ लाख ९६ हजार र जीएलएक्स भेरियन्टको मूल्य २ करोड २५ लाख ९६ हजार रुपैयाँ तोकेर विक्री सुरु भएको छ ।
सुजुकीको आधिकारीक वितरक सिजी मोटोकर्पले लामो समयपछि जापानमा उत्पादन भएको भिटार नेपाली बजारमा विक्री सुरु गरेको छ । यसअघि नै नेपाल आउने जनाइएको भिटारा कोभिड १९ संक्रमणको कारण आउन सकेको थिएन । कम्पनीले १ करोड ३ लाख मूल्य तोकेर यसको विक्री सुरु गरेको छ ।

टाटा मोटर्सको आधिकारीक वितरक सिप्रदी ट्रेडिङले आफ्नो आइकोनिक मोडल टाटा सफारीको नयाँ जेनेरेशन मोडल नेपाल ल्याएको छ । कम्पनीले यसको आधिकारीक विक्री आगामी हप्ताबाट सुरु हुने जनाएको भएपनि मूल्यको विषयमा कुनै जानकारी दिएको छैन । यद्यपी यसको मूल्य ९५ लाख हाराहारी पर्ने अनुमान गर्न सकिन्छ । साथै, टाटाले साउनको तेस्रो हप्ताबाट इलेक्ट्रीक एसयूभी नेक्सनको विक्री सुरु गर्ने जनाएको छ ।

जगदम्बा माेटर्सले पनि मलेशियन ब्राण्ड प्राेटाेनकाे एक्स-७० एसयुभी भाेली नेपालमा सार्वजनिक गर्ने भएकाे छ । यसकाे मुल्य ८० लाख देखि ९५ लाख हाराहारीमा हुने अनुमान गरिएकाे छ ।

रेनोले पनि आफ्नो पहिलो सब फोर मिटर एसयूभी काइगर आगामी हप्ताबाट विक्री सुरु गर्ने जानकारी दिएको छ । संभवत आगामी मंगलबारबाट यसको विक्री सुरु हुनेछ । रेनोको आधिकारीक वितरक एड्भन्स अटोमोवाइलले काइगरको सुरुवाती भेरियन्टको २८ लाख ४९ हजार मूल्य निर्धारण गरेर विक्री सुरु गर्न लागेको हो ।

ग्रेटवाल मोटर्सको आधिकारीक विक्रेता भिजी इम्पेक्सले ग्रेटवाल र हावल ब्राण्डका तीन नयाँ मोडल नेपाल ल्याएको छ । कम्पनीले हावल जोलीयन र एच सिक्स एसयूभी नेपाल ल्याएको हो भने ग्रेटवालको पोयर पीकअप ल्याएको हो । यी गाडीको मूल्य ५५ लाखदेखि ९० लाखसम्म कायम हुने अनुमान गरिएको छ ।

फ्रेन्च ब्राण्ड सिट्रोन पनि नेपाल आएको छ । साँग्रिला मोटरले सिट्रोन सी५ एयरक्रस नेपाल ल्याएको हो । कम्पनीले यसको मूल्य १ करोड ३५ लाखदेखि १ करोड ४० लाख कायम हुने जनाएको छ । यसको आधिकारीक विक्री केही दिनमा नै सुरु हुँदैछ ।

स्कोडा कुशक पनि साउन महिना भित्रै नेपाल आउने भएकोे छ । स्कोडाको आधिकारीक वितरक एमएडब्लु इन्टरप्राइजेज्ले कुशकको मूल्य ५० लाखदेखि ६५ लाखसम्म पर्ने जानकारी दिएको छ ।



