टाटाले ४ वर्षमा १० नयाँ इलेक्ट्रीक मोडल बजारमा ल्याउने

काठमाडौं । टाटा मोटर्सले आगामी ४ वर्षमा १० नयाँ इलेक्ट्रीक कार ल्याउने भएको छ । कम्पनीले उक्त कुराको जानकारी आफ्नो ७६ औं वार्षिक साधारण सभामा लगानीकर्ताहरुलाई दिएको हो ।

कम्पनीको भावी योजनाको बारेमा बोल्दै टाटा मोटर्सका चेयरम्यान एन चन्द्रशेखरनले विस्तारै विद्युतीय कारको बजार हिस्सा बढ्दै गएकाले कम्पनीको ध्यान विद्युतीय गाडीतर्फ मोडिएको र आगामी ४ वर्षमा १० नयाँ मोडल बजारमा उतार्ने बताएका थिए ।

उनले विद्युतीय कारको माग बढी रहेको र भोलिका दिनमा थप बढ्ने विषयमा जानकारी दिदै भनेका थिए, ‘सन् २०१९/२० मा १ प्रतिशतभन्दा कम बजार हिस्सा रहेको विद्युतीय गाडीको एक वर्षमा नै बजार हिस्सा बढेर २ प्रतिशत पुगेको छ । यसले भविष्यलाई संकेत गर्छ ।’

अहिले टाटाले नेक्सन र टिगोर इभी भारतमा विक्री गर्दै आएको छ । अबको केही दिन भित्रै नेक्सन इभी नेपालमा पनि विक्री सुरु हुँदैछ । यस्तोमा कम्पनीको नयाँ प्लानले विद्युतीय गाडी चाहने टाटाका ग्राहकलाई थप खुसी बनाएको छ ।

साधारण सभामा चेयरम्यान एन चन्द्रशेखरनले व्याट्री उत्पादक कम्पनीसँग मिलेर आफ्नै व्याट्री बनाउन लागेको समेत सेयरधनीहरुलाई जानकारी दिएका थिए ।


Back_to_top