टेस्लाले बनाउने भयो कम मूल्यको ह्याचव्याक कार

काठमाडौं । अमेरिकन प्रिमियम इलेक्ट्रीक कार निर्माता कम्पनी टेस्लाले आफ्नो पहिलो ह्याचव्याक बनाउने घोषणा गरेको छ । टेस्लाले यसअघि ल्याएको सेडान मोडल थ्रीको सफलतापछि ह्याचव्याक कारको रुपमा ‘मोडल २’ ल्याउने भएको हो ।

कम्पनीले नयाँ ह्याचव्याक कार बजारमा आउन भने केही वर्ष कुर्नु पर्ने जनाएको छ । सन् २०२३ बाट यो मोडल बजारमा ल्याउने लक्ष्यको साथ टेस्लाले काम गरिरहेको रिपोर्टहरु बाहिर आएका छन् । नयाँ ह्याचव्याक कार बजारमा आएपछि कम मूल्यका गाडी खोज्ने ग्राहकलाई यसले तान्ने अनुमान गरिएको छ ।

टेस्लाले आगामी मोडलको लागि नयाँ व्याट्री टेक्नलोजीको विकास गर्ने जनाएको छ । उक्त व्याट्रीको निर्माणपछि गाडीको उत्पादन लागत ५० प्रतिशतले कम हुने दावी गरिएको छ । टेस्लाले विकास गरिरहेको नयाँ टेक्नलोजीले विद्युतीय गाडीको पावर ५ गुणा र रेञ्ज १६ प्रतिशत वृद्धि हुने जनाइएको छ ।

टेस्लाले नयाँ कारमा ५० किलोवाट आवरको व्याट्री प्रयोग गर्ने अनुमान गरिएको छ । कम्पनीले यसको रेन्ज ४ सय किलोमिटर बनाउने अनुमान सुरु भएको छ ।

टेस्ला मोडल २ को लन्चिङ टेस्लाले ल्याउने भनिके बहुप्रतिक्षित साइबर ट्रक र रोडस्टर मोडल बजारमा आएपछि मात्रै हुनेछ । हाल अमेरिकी बजारमा राम्रो गरिरहेका फक्वागन आईडी थ्री, निसान लिफ र किया निरोको सेग्मेन्टमा यसलाई ल्याउने अनुमान गर्न सकिन्छ ।


Back_to_top