दिमाग नै खल्बलाउने इलेक्ट्रीक कार, कमसल इन्टेरियरले आयातकर्ता नै अन्योलमा

काठमाडौं । इभी नेपाल प्रालिले ल्याएको नयाँ ब्राण्ड हार्मोनियस गाय कम्पनीको ‘बेन्ज जीएक्स–८’ मोडल नेपाल आएको छ । कम्पनीले यसलाई भैसेपाटी र नक्साल शोरुमा राखेर विक्री सुरु गर्ने तयारी गरेको छ ।

झट्ट हेर्दा निकै आकर्षक मिनि एसयूभी डिजाइनमा तयार भएको बेन्ज जीएक्स-८ गाडीको ढोका खोलेर हेरेपछि दिमाग नै खल्बलिन्छ । यो विद्युतीय गाडीको इन्टेरियर जति गाली गरेपनि नपुग्ने किसिमको छ । लाग्छ बच्चाको खोलौना कारको इन्टेरियर यो भन्दा निकै उत्कृष्ट हुन्छ ।

गाडी भित्रको वायरिङ छरपस्ट छ, ड्यासबोर्डको क्वालिटी घिनलाग्दो छ, इन्फोटेन्टमेन्ट सिस्टममा के डिस्प्ले हुँदैछ, राम्रोसँग देखिदैन । एसी र एसीको लागि दिइएको स्वीच सामान्य घरमा बत्ति बाल्ने स्वीचभन्दा कमजोर छ । ब्रेकको अवस्था झनै नाजुक छ । सिट, सिटवेल्ट, सिटवेल्ट बकल, फ्लोर, स्टेरिङ ह्वीलको क्वालीटी निसार लाग्दो छ । अझ सनरुफ भनिएको फिचर हेर्दा सनरुफलाई गाली गरेजस्तो लाग्छ ।

बाहिर उल्टो गरेर प्रयोग भएको मर्सिडिजको लोगो लोभलाग्दो देखेर भित्र छिर्ने जो कोही निरास भएर फर्कन्छन् ।

‘हामीले चीनमा हेर्दा यी गाडीको इन्टेरियर निकै उत्कृष्ट थियो । तर, यहाँ आएको गाडी हेरेपछि हामी नै के गर्ने भन्नेमा परेका छौं,’ कम्पनी स्राेतले भन्याे ।

यी कुराले नै बेन्ज जीएक्स-८ को हालत कस्तो होला भनेर थप भनिरहनु पर्दैन । अहिले कम्पनीले ४ यूनिट मात्रै गाडी ल्याएको जानकारी दिएको छ । नेपाल आएको गाडीको अवस्था हेरेपछि थप गाडी तत्काल ल्याउने पक्षमा आफुहरु नरहेको कम्पनीको भनाई छ ।

इभी नेपाल प्रालिले साइटेक लगायतका ब्राण्डका विद्युतीय कार नेपाल ल्याउने क्रममा रहेकाले यो कार थप नल्याउने निष्कर्षमा उनिहरु पुगेका छन् ।

उत्कृष्ट बाहिरी बनोट

हार्मोनियस गाय ‘बेन्ज जीएक्स–८’ बाहिरबाट हेर्दा भने उत्कृष्ट लाग्छ । कारको लम्बाई ३४५० एमएम चौडाई १५५० एमएम र उचाई १६३० एमएम रहेको छ । यो कारको कुल तौल ८०० किलोग्राम मात्रै रहेको छ ।

१७० एमएमको ग्राउन्ड क्लियरेन्स, २२६० एमएमको ह्वीलवेस कारको सवल पक्ष हो ।

व्याट्री र पावर

यो सानो कारमा ७.५ किलोवाट आवर क्षमताको व्याट्री दिइएको छ । यसमा लिथियम आयोन व्याट्री छ भने, ४ किलोवाट क्षमताको मोटर दिइएको छ ।

यो कारलाई अधिकतम ६० किलोमिटर प्रतिघन्टाको स्पीडमा चलाउन सकिन्छ । एक पटकको फुलचार्जमा यसले ८० किलोमिटरदेखि १५० किलोमिटरसम्म रेञ्ज प्रदान गर्ने कम्पनीको दावी छ ।

कम्पनीले यसको मूल्य करिब १७ देखि १८ लाख रुपैयाँ हाराहारी निर्धारण गरेर विक्री सुरु गर्ने जनाएको छ । मूल्य आज भोलिनै सार्वजनिक गर्ने तयारी भइरहेको कम्पनीले जनाएको छ ।

यो गाडीमा आयातकर्ता कम्पनी नै झुकिएको जस्तो लाग्छ । उनिहरुकै भनाईमा चीनमा हेरेको भन्दा निकै कमजोर गाडी नेपाल आएको छ । यसले चीनको अनलाईन प्लेटफर्म अलिबाबामा गाडी किनेर नेपाल ल्याउने परिपाटी मौलाउँदो रहेको देखिन्छ ।

 


Back_to_top