काठमाडौं । नेपाली अटोमोबाइल क्षेत्रमा कम्प्याक्ट एसयूभी सेग्मेन्टको पहिलो चर्चित मोडल डस्टरको नयाँ जेनेरेशन मोडल सार्वजनिक भएको छ । रेनोको सिस्टर ब्राण्ड डासियाले बुधबार युरोपेली देश पोर्चुगलमा तेस्रो जेनेरेशनको डस्टर सार्वजनिक गरेको हो ।
नयाँ जेनेरेशन डस्टर भारतीय बजारमा भने सन् २०२५ मा मात्र सार्वजनिक हुनेछ । रेनो निसानको सीएमएफ-बी प्ल्याटफर्ममा निर्माण भएको नयाँ डस्टरमा पनि पहिलाको जेनेरेशनको जस्तै बल्की लुक्स, रगेड र अफरोड अपिलिङ रहको छ ।
७ सिटको अप्सनमा समेत हुने नयाँ डस्टर पहिलाको मोडलभन्दा केही ठूलो साइजमा लन्च भएको छ । नयाँ डस्टरको फ्रन्टमा वाई सेपको एलईडी डीआरएल रहेको छ, जसलाई क्रोम डिजाइनले वारपार जोडेको देखिन्छ ।
बम्परमा भने भर्टिकल डिजाइनको एयरभेन्ट दिएको डस्टरमा सर्कुलर डिजाइनका फगल्याम्प तथा लोअर पार्टमा ठूलो साइजको ग्रिल रहेको छ । जसले फ्ल्याट बुलबारको जस्तो डिजाइन देखिएको छ ।

ठूलो साइजको स्क्वायरअफ ह्वीलआर्क, रुफरेल, स्पोइलर तथा रियरमा क्वाटर ग्लास यसको साइड डिजाइन हो । अर्को मुख्य नयाँ डिजाइन भनेको साइड मिररको ठीक तलपट्टी ब्ल्याक आउट स्याडो लाइन तथा १८ इन्चको ब्ल्याक आउट अलोय ह्वील तथा मोटो क्लाइडिङ रहेको छ ।
नयाँ डस्टरमा लाइट एण्ड डार्कग्रे कलरको डबल लेयर ड्यासबोर्ड रहेको छ भने सेन्टर कन्सोल हल्का ड्राइभरपट्टी एङ्गल भएको देखिन्छ । नयाँ डस्टरमा ७ इन्चको ड्राइभर इन्फर्मेसन तथा १०.१ इन्चको टचस्क्रीन इन्फोटेन्मेन्ट सिस्टम रहेको छ ।

अटोमेटिक गियरबक्स तथा इलेक्ट्रोनिक पार्किङ ब्रेक रहेको नयाँ डस्टरमा मल्टीफङ्सनल थ्री स्पोक स्टेरिङ ह्वील रहेको छ । अन्य फिचरमा एडास टेक्नलोजी, वायलेस चार्जिङ पोर्ट, वायरलेस एप्पलकार प्ले तथ एन्डरोइड अटो कनेक्टिभिटी अटोमेटिक क्लाइमेट कन्ट्रोल अर्काम्सको थ्रीडी साउण्ड सिस्टम, ६ वटा स्पीकर आदि रहेको छ ।

नयाँ जेनेरेशन डस्टरमा तीन वटा इन्जिन अप्सन रहेको छ । यसमा दुइवटा इलेक्ट्रीक मोटरसहितको १.६ लिटरको फोर सिलिण्डर पेट्रोल हाइब्रिड इन्जिन जसमा अटोमेटिक गियरबक्स रहेको छ । यसमा १.२ किलोवाट आवरको ब्याट्री तथा रिजेनेरेटिभ ब्रेकिङ सिस्टम समेत रहेको छ । जसले सहरी क्षेत्रमा ८० प्रतिशत ड्राइभलाई कभर गर्नेछ । अर्को १.२ लिटरको माइल्ड हाइब्रिड पावरट्रेन र तेस्रो १।२ लिटरको थ्री सिलीण्डर टर्बो पेट्रोल इन्जिन रहेको छ । डिजेल इन्जिन अप्सन नभए पनि केही देशमा डस्टर एलपीजी ग्यास अप्सनमा समेत उपलब्ध हुनेछ ।
पहिलाको जेनेरेशनको जस्तै नयाँ डस्टर 4×2 र 4×4 अप्सनमा उपलब्ध हुनेछ । यसमा अटो, स्नो, मड/स्याण्ड, अफरोड तथा इको जस्ता ड्राइभट्रेन रहनेछ । 4×4 डस्टरमा २१७ एमएमको ग्राउण्ड क्लियरेन्स, ३१ डिग्रीको अप्रोच एङ्गल, तथा ३६ डिग्रीको डिपार्चर एङ्गल रहेको छ ।

