काठमाडौं । एक्सपल्सले नयाँ मोटरसाइकलको टिजर सार्वजनिक गरेको छ । कम्पनीले इटालीको मिलानमा दुई दिनपछि सुरू हुने ईआइसीएमए (इक्मा) अटो शो २०२३ मा सार्वजनिक गर्ने तयारी गरेको उक्त मोटरसाइकलको टिजर सार्वजनिक गरेको हो ।
कम्पनीले केही दिन अघि मात्र एक टिजर सार्वजनिक गर्दै नयाँ एक्सपल्स आउने संकेत गरेको थियो । हाल सार्वजनिक टिजरमा देखिए अनुसार नयाँ एक्सपल्समा लिक्वीड कुल्ड इन्जिन उपलब्ध हुनेछ ।
कम्पनीले नयाँ एक्सपल्सलाई २१० सीसी इन्जिनमा ल्याउने भएको हो । करिज्मा एक्सएमआर २१० मा भएको लिक्वीड कुल्ड इन्जिन नयाँ एक्सपल्स २१० मा प्रयोग हुनेछ ।
हिरोले मिडसाइज एड्भेन्चर ल्याउने तयारी लामो समयदेखि गर्दै आएको छ । कम्पनीले विभिन्न समयमा एक्सपल्स २१० र एक्सपल्स ४४० परीक्षण गरिरहेको छ । टिजरमा देखिएको एक्सपल्स २१० मा भएको इन्जिनले २५ पीएस पावर तथा २० एनएम टर्क जेनेरेट जेनेरेट गर्छ । यसमा ६स्पीड गियर उपलब्ध हुनेछ । नयाँ एक्सपल्सको इन्जिन क्रुजिङका साथै हाइवे पर्फमेन्सका लागि ट्युनिङ गरिने अनुमान गर्न सकिन्छ ।

