नयाँ जीप कम्पासको बुकिङ खुल्ला, यस्तो छ सबै ९ भेरियन्टको मूल्य

काठमाडौं । जीप कम्पास फेसलिफ्ट मोडलको नेपालमा बुकिङ खुल्ला भएको छ । कम्पनीले जनवरी अन्तिममा भारतमा सार्वजनिक गरेको कम्पास फेसलिफ्टको नेपालमा बुकिङ खुल्ला गरेको हो ।

जीपको आधिकारीक वितरक लाइफ अटोमोवाइलले नेपाल ल्याउन लागेको नयाँ कम्पासमा कस्मेटिक परिमार्जन मात्र गरेको छ । यसको मेकानिकल पार्टसमा कुनै परिमार्जन भएको छैन । भारतीय प्रदुषण मापदण्ड बीएस-६ इन्जिनमा आउने कम्पास फेसलिफ्टमा १.४ लिटर टर्बो पेट्रोल र २.० लिटर फोर सिलिन्डर मल्टी जेट टर्बो डिजेल इन्जिन दिइएको छ । टर्बो पेट्रोल इन्जिनले १६३ हर्स पावर र २५० एनएम टर्क तथा डिजेल इन्जिनले १७३ हर्स पावर र ३५० एनएम टर्क जेनेरेट गर्छ ।

फेसलिफ्ट कम्पास स्पोर्ट, लंगिच्युड, लिमिटेड, ट्रायलहक र मोडल एस भेरियन्टमा उपलब्ध रहने छ । मार्च अन्तिम वा अप्रिल पहिलो साताबाट ग्राहकलाई गाडी हस्तान्त्रण गर्ने लक्ष्यका साथ नयाँ कम्पास नेपाल ल्याउने तयारी भएको कम्पनीको भनाई छ ।

नयाँ कलर अप्सनसहित आएको फेसलिफ्ट कम्पासमा प्रयोग भएको ७ स्लट ग्रिल केहि परिमार्जन देख्न सकिन्छ । साथै, गाडीको अगाडिको बम्पर र पछाडिको बम्पर रिडिजाइन गरिएको छ ।

फियात क्राइसरलले ल्याएको नयाँ इन्फोटेन्टमेन्ट सिस्टम यसमा प्रयोग गरिएको छ । १०.१ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, पानारोमिक सनरुफ, नयाँ स्टेयरिङ ह्विल, परिमार्जित १०.२५ इन्चको डिजिटल इन्स्ट्रुमेन्ट कन्सोल, यूकनेक्ट प्रविधि जस्ता नयाँ टेक्नोलोजीले कम्पासलाई प्रिमियम बनाएको छ ।

सुरक्षा फिचरको मामलामा जिप कम्पास पहिलेदेखि नै अब्बल रहेको छ । त्यसैको निरन्तरता शोरुप ७ एयरब्याग, इबीडीको साथ एबीएस, ब्रेक एसिस्ट, ३६० डिग्री क्यामेरा, इलेक्ट्रोनिक स्ट्याबिलिटी प्रोग्राम, हिल डिसेन्ट कन्ट्रोल जस्ता फिचर उपलब्ध छन् ।

यस्तो छ सबै भेरिइन्टको मूल्य

फेसलिफ्ट कम्पास पेट्रोल इन्जिनमा ३ भेरियन्ट नेपाल आउने छ । जसमा स्पोट म्यानुयल भेरियन्टको मूल्य ८४ लाख ९० हजार, लङगिच्यूट (अप्सनल) अटोमेटिकको ९९ लाख ९० हजार र लिमिटेड (अप्सनल)को मूल्य १ करोड ११ लाख ९० हजार रुपैयाँ निर्धारण गरिएको छ ।

त्यसैगरि कम्पनीले डिजेल इन्जिनमा ६ भेरियन्ट नेपाल ल्याउने भएको छ । जसमा लङगीच्यूट (अप्सनल) म्यानुयलको मूल्य ९९ लाख ९० हजार, लिमिटेड (अप्सनल) म्यानुयलको १ करोड ९ लाख ९० हजार, लिमिटेड (अप्सनल) अटोमेटिक फोर वाइ फोरको १ करोड २७ लाख ९० हजार, मोडल एस म्यानुयलको १ करोड १८ लाख ९० हजार र मोडल एस अटोमेटिकको १ करोड ३६ लाख ९० हजार रुपैयाँ तोकिएको छ । कम्पनीले कम्पास ट्रायलहक अटोमेटिकको मूल्य भने १ करोड २८ लाख ८० हजार निर्धारण गरेको जनाएको छ ।


Back_to_top