नयाँ पेट्रोल पम्पका लागि आवेदन माग, यस्तो छ मापदण्ड

काठमाडौं । नेपाल आयल निगमले नयाँ पेट्रोल पम्प सञ्चालनका लागि आवेदन खुलाएको छ । निगमले पेट्रोलियम पदार्थ बिक्रेता नियमावली २०७५ ल्याई यस्तो व्यवस्था गर्न लागेको हो । 

नयाँ नियमावली आज नेपाल राजपत्रमा प्रकाशित भएपछि नयाँ मापदण्ड पुरा गरेर आउने सबैले पेट्रोल पम्प सञ्चालनको लाइसेन्स पाउने निगमका प्रवक्ता बीरेन्द्र गोइतले बताए । पछिल्लो समय सडकको विस्तार भई गाउँगाउँमा यातायातको पहुँच पुगेको, सवारी साधनको संख्या वृद्धि भइरहेको र पेट्रोलियम पदार्थको बिक्रीमा प्रतिस्पर्धा बढाउन नयाँ पेट्रोल पम्प खोल्ने मापदण्ड परिमार्जन गरिएको गोइतको भनाई छ । 

गाउँगाउँमा बाटो पुगेको छ त्यहाँ सवारी साधन पनि चलेका छन् तर पम्प जिल्ला सदरमुकाममा मात्र केन्द्रीत भएकाले पनि नयाँ पम्प खोल्नु अत्यावश्यक भएको निगमले जनाएको छ । नयाँ पेट्राेल पम्प संचालन गर्न चाहनेले ६० दिन भित्र आवेदन दिन सक्ने छन् ।

नयाँ मापदण्ड अनुसार नमुना पेट्रोल पम्प र साधारण पेट्रोल पम्प गरी दुई वर्गमा वर्गीकरण गरेको छ । नमुना पेट्रोल पम्प जुनसुकै बेला पनि सञ्चालन गर्न पाउने व्यवस्था गरेको छ, तर साधारण पम्पका लागि आवेदन खुलाउनुपर्ने व्यवस्था गरिएको छ ।

साधारण पम्प सञ्चालनका लागि नयाँ मापदण्ड निर्धारण गरिएको छ । पूर्वपश्चिम राजमार्गमा १० कठ्ठा जमिन हुनुपर्ने प्रावधान छ । राजमार्गबाट पम्पसम्मको दूरि कम्तीमा ५० मिटर हुनुपर्नेछ । सहायक तथा व्यापारिक सडकमा २५ सय वर्गमिटर ८ कठ्ठा वा ५ रोपनी र सडकदेखि पम्पको दूरि कम्तीमा ३४ मिटर तोकिएको छ । 

त्यस्तै सहायक तथा जिल्ला सडकहरूमा कम्तीमा १२ सय वर्गमिटर वा चार कट्ठा वा २ रोपनी ६ आना जमिन हुनुपर्नेछ । सडकत र पम्पको दूरि कम्तीमा २५ मिटर हुनुपर्नेछ । 

काठमाडौँ र ललितपुर महानगरपालिकालाई भने भिन्नै मापदण्ड तोकिएको छ । कम्तीमा ७५० वर्गमिटर वा १ रोपनी ८ आना जग्गा हुनुपर्नेछ । सडक र पम्पको दूरि २० मिटर तोकिएको छ । यी दुवै महानगरमा पेट्रोल बिक्रीका लागि मात्र आवेदन खुला गरिएको छ, भने अन्यमा पेट्रोल, डिजेल दुवै बिक्री गर्न खुला गरिएको छ ।

ललितपुर र काठमाडौँमा डिजेलभन्दा पेट्रोलको खपत बढी भएकाले यहाँ पेट्रोलका लागि मात्र खुला गरिएको निगमको भनाई छ । साधारण पम्पको लागि एकदेखि अर्को पम्पको दूरी तीन सय मिटर तोकिएको छ । पूर्वपश्चिम राजमार्गको हकमा पाँच सय मिटर तोकिएको छ । 

नमुना पम्पको बिक्रेताको दूरी भने १० किलोमिटर तोकिएको छ । आगामी छ महिनाभित्र निगमले नयाँ बिक्रेताको तोकिसक्ने गरि काम अघि बढाएको जनाएको छ । 


Back_to_top