काठमाडौं । अर्को हप्ताबाट इलेक्ट्रीक मिड साइज एसयूभीको बुकिङ खुल्ला हुने भएको छ । बीवाइडीको आधिकारीक विक्रेता साइमेक्स इंकले नयाँ एसयूभी ‘एटो-३’ को बुकिङ खुल्ला गर्न लागेको हो ।
राष्ट्र बैंकले सबै बैंक तथा वित्तीय संस्थालाई गाडी आयातमा प्रतितपत्र खोल्न बन्देज लगाएसँगै विद्युतीय गाडीको पनि एलसी बन्द भएको थियो । तर, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले विद्युतीय गाडीको आयात खुल्ला गर्ने निर्णय लिएसँगै नयाँ मोडल नेपाल आउन लागेको हो ।
‘आगामी हप्ताबाट बुकिङ खुल्ला गर्नेगरी काम भइरहेको छ । अहिले चीनमा लकडाउन चलिरहेको कारण एकै पटक धेरै गाडी ल्याउन सक्ने अवस्था नरहेपनि बुकिङ गर्ने ग्राहकलाई २ महिना भित्रै डेलिभरी दिन सक्नेगरी तयारी गरेका छौं’, साइमेक्स इंक स्रोतले मेरोअटोसँग भन्यो ।
अष्ट्रेलियामा विक्री सुरु भएको एटो-३ नै नेपाल आउने कम्पनीले जनाएको छ । साथै, सुरुमा एटो-३ को लङ रेन्ज मोडल मात्रै नेपाल आउने छ ।

‘अहिले लङ रेन्ज मोडल मात्रै उपलब्ध हुन्छ । स्टायडर्ड मोडलको लागि भने दशैंको आसपाससम्म कुर्नु पर्छ’, कम्पनी स्रोतले भन्यो ।
साइमेक्स इंकले काठमाडौं नारायणचौर नक्सालमा शोरुम निर्माणलाई अन्तिम चरण पुर्याएको छ । शोरुम उद्घाटन र एटो-३ को डेलिभरी एकै पटक सुरु गर्नेगरी काम भइरहेको कम्पनी स्रोतले जानकारी दियो । यो मोडललाई बुकिङ गर्न चाहने ग्राहकले १ लाख रुपैयाँ रकम तिरर बुकिङ गर्न सक्ने छन् ।
यस्तो छ एटो-३
बीवाइडीले नेपाली बजारमा ल्याउन लागेको एटो-३ को लङ रेन्ज मोडल हो । यसमा ६०.४ किलोवाट आवरको बीवाइडीको लेटेष्ट टेक्नोलोजी प्रयोग भएको ब्लेड ब्याट्री पाउन सकिन्छ ।
अहिलेसम्म बजारमा उपलब्ध बीवाइडीको कार मध्ये सबैभन्दा पावरफुल मोटर रहेको एटो-३ मा १५० किलोवाट क्षमताको इलेक्ट्रीक मोटर जडान भएको छ । यसमा रहेको ब्याट्रीलाई फुल चार्जगर्दा ४०० किलोमिटर रेन्ज प्रदान गर्ने डब्लूएलटीपीले प्रमाणित गरेको छ । यसको एक्सीलेरेसन पनि उत्कृष्ट रहेको छ । गाडीले सून्यदेखि १०० किलोमिटर प्रतिघन्टाको स्पीड केवल ७.३ सेकेन्डमा भेट्टाउने छ ।

बीवाइडीको डेडिकेटेट इभी प्लेटफर्ममा तयार भएको एटो-३ कम्पनीको ३.० ड्रागनफेस प्लेटफर्ममा तयार भएको हो । निकै प्रिमियम र फराकिलो क्याविन यसको सबैभन्दा सबल पक्ष हो । १२.८ इन्चको इन्फोटेन्टमेन्ट सिस्टम, ५ इन्चको ड्राइभर इन्फरमेशन डिस्प्ले, ७ वटा एयरव्याग, अष्ट्रेलियन एनक्यापमा ५ स्टार सेफ्टी रेटिङ यो कारको बलियो पक्ष हो ।
कम्पनीले यसको एक्सटेरियरलाई पनि निकै आकर्षक बनाएको छ । कम्पनीले एटो–३ लङ रेन्जको मूल्य सार्वजनिक नगरेपनि ६२ लाखदेखि ६४ लाख भित्रै मूल्य रहने अनुमान गर्न सकिन्छ ।

