काठमाडौं । विदेशी मुद्रा संचिति घट्दा सरकारले सबैभन्दा पहिला औजार चलाएको अटोमोबाइल क्षेत्रमा नयाँ मोडल लञ्च हुने प्रक्रिया करिब ४ महिनाको लागि पूर्ण रुपमा बन्द भएको छ ।
मंसिर अन्तिमबाट लगानी योग्य रकमको अभाव भएसँगै बैंक तथा वित्तिय संस्थाले गाडी किन्न ऋण खोज्नेलाई कर्जा दिन बन्द गरेसँगै कारको विक्री घट्दै गएको थियो । घट्दो विक्री र कर्जा सुविधा उपलब्ध नहुँदा गाडी आयातकर्ता कम्पनीले नयाँ मोडल बजारमा ल्याउन चाहेनन् ।
भारतीय बजारमा विक्री सुरु भएर विक्रीको नयाँ आँकडा भेट्टाइरहेका एसयूभी र सेडान कार नेपाल आउने क्रममा थिए । तर, समग्र बस्तुस्थितिलाई नियालेर कम्पनीहरुले बजारमा नयाँ मोडल ल्याएनन् । अब सरकारले असार मसान्तसम्म गाडी आयातमा प्रतिबन्ध लगाएका कारण ती मोडल तत्काल आउन सक्ने अवस्था रहेन ।
टाटाले नेपालमा विक्री सुरु गर्ने मितिसमेत एकिन गरिसकेको माइक्रो एसयूभी पन्च, महिन्द्राको सर्वाधिक चर्चामा रहेको एक्सयूभी ७००, भारतमा बुकिङ खुल्ला भएदेखि नै लामो वेटिङ पिरियड रहेको किया कारेन्स र र्यापीडको उत्पादन बन्द गर्दै स्कोडाले भारतमा उत्पादन गरेको स्लाभिया नेपालमा विक्री सुरु हुन सकेन ।
टाटा पन्च
टाटाको इन्ट्री लेवल एसयूभी पन्च अप्रिलमा नै नेपालमा विक्री सुरु गर्ने योजना सिप्रदी ट्रेडिङ बनाएको थियो । तर, विविध कारण यसको विक्री सुरु हुन सकेन । माइक्रो एसयूभी सेग्मेन्टमा आएर ग्लोबल एनक्याप क्र्यास टेष्टमा ५ स्टार सेफ्टी रेटिङ पाएको पन्च भारतमा मासिक १० हजार यूनिटका दरले विक्री भइरहेको छ ।

टाटा पन्चमा १.२ लिटर थ्रि सिलिण्डर पेट्रोल इन्जिन दिइएको छ । उक्त इन्जिनले अधिकतम ८६ बीएच पावर र ११३ एनएम टर्क प्रदान गर्छ । यसमा ५ स्पीड म्यानुयल र एएमटी गियरबक्स उपलब्ध हुनेछ । यसमा १८७ एमएमको ग्राउन्ड क्लियरेन्स रहेको छ ।
निकै बाक्लो बडी क्लाडिङ, स्क्वायर अफ ह्वील आर्क, एलइडी टेलल्याम्प, हर्मनको ७ इन्च इन्फोटेन्टमेन्ट सिस्टम, ९० डिग्रीमा खुल्ने ढोका, १६ इन्चको डायमन्ड कट अलोय ह्वील, अटोमेटीक क्लाइमेट कन्ट्रोल, रेन सेन्सिङ वाइपर, रिभर्स क्यामेरा र सेन्सर यसको टप भेरियन्टमा पाउन सकिन्छ । साथै, पुस बटम स्टार्ट÷स्टप बटम, दुई एयरव्याग, एबीएस, इबीडी, इएससी, कुल्ड ग्लोबबक्स, क्रुज कन्ट्रोल, अटो फोल्डिङ ओआरभीएम, लेदर र्याप स्टेरिङ ह्वील जस्ता फिचर पाउन सकिन्छ ।
किया कारेन्स
कियाको आधिकारीक वितरक कन्टिनेन्टल ट्रेडिङले अप्रिल अन्तिममा नेपालमा मूल्य सार्वजनिक गर्ने योजना बनाएको कारेन्सको लचिङ तत्काललाई टरेको छ ।
कियाले भारतमा बनाएको ७ सिट क्षमताको एसयूभी कारेन्स भारतमा ५० हजार यूनिटभन्दा बढी बुकिङ रहेको छ । किया ‘कारेन्स’ बाहिरबाट हेर्दा निकै आकर्षक देखिन्छ । कारेन्समा भर्टिकल स्प्लीट एलइडी हेडल्याम्प, स्लीक टाइगर नोज फ्रन्ट ग्रिल र एलइडी फगल्याम्प सहितको बम्पर दिएको छ ।

कियाले यसलाई सुरक्षाको हिसावले अब्बल बनाउन फ्रन्ट बम्परमा समेत सेन्सर दिएको छ । नयाँ डिजाइनको अलोय ह्वील, पछाडि र्यापअराउण्ड एलइडी टेललाइट, स्पोर्टी रुफ स्पोइलर र क्रोम फिनिसिङ सहितको पछाडिको बम्परले क्रेन्सलाई उत्कृष्ट बनाएको छ ।
कारेन्स बाहिरबाट सुन्दरसँगै भित्री डिजाइन आकर्षक र आरामदायी छ । फ्ल्याट डिजाइनमा तयार गरिएको ड्यासबोर्ड र बीचमा दिइएको १०.२५ इन्चको टचस्कृन इन्फोटेन्मेन्ट सिस्टम र त्यसको ठिक्क मुनी रहेको टच सेन्सेटीच एचभीएसी कन्ट्रोलले यसलाई बजारमा उपलब्ध अन्य कारभन्दा माथि देखाएको छ । यसमा १२.५ इन्चको एलसिडी इन्ट्रुमेन्ट क्लस्टर, फ्ल्याटबटम स्टेरिङ ह्वील, इलेक्ट्रीक सिट, एम्बीयन्ट लाइट, इलेक्ट्रीक सनरुफ, ६ वटा एयरव्याग जस्ता फिचर दिइएको छ । कम्पनीले यसलाई ६ र ७ सिट क्षमतामा उपलब्ध गराउने छ ।
महिन्द्रा एक्सयूभी-७००
अग्नी इनकर्पोरेट प्रालिले नयाँ नेपाली नयाँ वर्षको अवसरमा विक्री सुरु गर्ने योजना बनाएको भएपनि एक्सयूभी-७०० को विक्री सुरु हुन सकेन । कम्पनीले मे महिनाको अन्तिमसम्ममा सार्वजनिक गर्ने योजना बनाएको भएपनि अब त्यो पनि सम्भव नहुने भयो ।
अब कम्पनीले दशैंसम्ममा यसलाई नेपालमा विक्री गर्ने योजना बनाएको छ । महिन्द्राको नयाँ एसयूभी ‘एक्सयूभी-७००’ मा थुप्रै हाइटेक फिचर पाउन सकिन्छ । कम्पनीले ‘एड्रिनोएक्स’ कनेक्ट फिचरको साथमा एक्सयूभी-७०० लाई बजारमा ल्याएकोले यसमा ग्राहकले नयाँ फिचरको प्रयोग गर्न पाउने छन् ।
एड्रिनोएक्स कनेक्ट सिस्टमको कारण यसमा थुप्रै यूनिक सुरक्षा फिचरहरु उपलब्ध रहेको महिन्द्राको दावी छ । यही सिस्टमको कारण चालकलाई सधै सजग गराउन मद्दत पुग्ने छ । यदि चालक निदाउन लागेको छ भने पनि सिस्टमले उसलाई निर्देश गर्नेछ ।

यात्रालाई आरामदायी र मनोरन्जनात्मक बनाउन मोवाइल कनेक्ट, सिमकार्ड बिनाको नेभिगेशन, रिमोर्ट स्टार्ट/स्टप, क्लाइमेट कन्ट्रोल, रिमोर्ट विन्डो कन्ट्रोल, मोवाइल एप र स्मार्टवाचवाट भेहिकल कन्ट्रोल जस्ता फिचर पनि यसमा समावेस भएका छन् ।
५ र ७ सिट क्षमतामा सार्वजनिक भएको एक्सयूभी ७०० निकै पावर फुल इन्जिनको साथ बजारमा आएको हो । कम्पनीले दुई इन्जिन अप्सनमा यसलाई ल्याएको छ । २.२ लिटर टर्बो डिजेल र २.० लिटर टर्बो पेट्रोल इन्जिन मध्ये ग्राहकले एउटा छनोट गर्न सक्ने छन् ।
यसमा रहेको टर्बो पेट्रोल इन्जिनले २०० पीएस र डिजेल इन्जिनले १८५ पीएस पावर प्रदान गर्नेछ । डिजेल इन्जिनको टर्क ४५० एनएम छ भने पेट्रोल इन्जिनको ३८० एनएम रहेको छ ।
स्कोडा स्लाभिया
स्कोडाको आधिकारीक विक्रेता एमएडब्लूले स्कोडा स्लाभिया नेपाल ल्याउने तयार गरेको थियो । भारतीय बजारमा आक्रमक रणनीति अबलम्बन गरेको स्कोडाले र्यापीडको स्थानमा नयाँ सेडान कार ल्याएको हो ।
र्यापीडको तुलनामा निकै प्रिमियम फिचर उपलब्ध रहेको स्लाभियाले भारतमा राम्रो विक्री पाइसकेको छ । स्कोडा स्लाभियामा अगाडि बटरफ्लाई ग्रिल र एलइडी हेडल्याम्पको उत्कृष्ट कम्बीनेशन पाउन सकिन्छ । स्लाभियाको पछाडिको भाग पनि उत्कृष्ट देखिएको छ । यसको पछाडि भागमा क्रिस्टललाइन सहितको एलइडी टेलल्याम्प दिइएको छ ।

सेफ्टी र मनोरञ्जनको लागि उत्कृष्ट बनाउन स्लाभियामा स्कोडाले कुनै कसर बाँकी राखेको छैन । कम्पनीले यसमा एससी, रियर पार्किङ सेन्सर, क्यामेरा, क्रुज कन्ट्रोल, मल्टी-कोलिजन ब्रेक र ६ वटासम्म एयरब्याग दिएको छ । साथै, मनोरञ्जन र चालकको सुविधाको लागि १० इन्चको इन्फोटेनमेन्ट सिस्टम, वायरलेस चार्जिङ, भर्चुअल ककपिट, अटोमेटिक क्लाइमेट कन्ट्रोल जस्ता फिचर प्रदान गरेको छ ।
एमएडब्लू स्कोडाले स्लाभियालाई १.० लिटर टिएसआई इन्जिनमा उपलब्ध गराउने छ । भारतमा भने यसको १.५ लिटर टीएसआई इन्जिन अप्सन पनि उपलब्ध रहेको छ । सिक्स स्पीड म्यानुयल र सिक्स स्पीड टर्क कन्भर्टर तथा ७ स्पीड डीएसजी गियरबक्स मध्ये आफ्नो आवश्यकता अनुसार ग्राहकले छनोट गर्न सक्ने छन् ।


