काठमाडौं । टाटाको चर्चित एसयूभी नेक्सनको नयाँ मोडल परीक्षणका क्रममा देखिएको छ । भारतको विभिन्न सडकमा पूरै ‘क्यामोफ्लाज’ले ढाकेर परीक्षण भइरहेको तस्बिर बाहिरिएको हो ।
परीक्षणको क्रममा देखिएको नयाँ नेक्सन झट्ट हेर्दा नयाँ इन्जिन विकल्प सीएनजी अटोमेटिक जस्तो देखिन्छ । तर, इन्जिनमा मात्र परिवर्तन गर्दा पूरै गाडी छोप्नु आवश्यक हुँदैन । त्यसैले यो टाटाले फेसलिफ्ट मोडल हुनसक्ने अनुमान गरिएको छ ।
टाटाको नेक्सन हाल राम्रै संख्यामा बिक्री भइरहेको छ । मार्च महिनामा मात्रै २० हजार युनिट बिक्री भएको थियो । राम्रो बजार पाइरहे पनि टाटाले बिक्रीको रफ्तार बढाउन नेक्सनको फेसलिफ्ट ल्याउन लागेको अनुमान गरिएको छ । कम्पनीले बजार पाइरहेको पन्च एसयूभीको गत महिना मात्रै फेसलिफ्ट मोडल ल्याएको थियो ।
टाटा मोटर्सको कुल बिक्रीको ६० देखि ६५ प्रतिशत हिस्सा नेक्सन र पन्चको छ । त्यसैले टाटाले यी गाडीहरूलाई सधैं नयाँ र आधुनिक बनाइराख्नु निकै महत्त्वपूर्ण छ ।
सार्वजनिक भएका तस्बिरहरू अनुसार नयाँ नेक्सनको ह्वील, हेडलाइट र पछाडिको एलईडी लाइटहरू अहिलेकै मोडेल जस्तै देखिएका छन्। त्यसैले, मुख्य परिवर्तनहरू गाडीको इन्टेरियरको सजावट र थप नयाँ सुविधाहरूमा हुन सक्छ ।
टाटा नेक्सन पेट्रोल, डिजेल, सीएनजी र ईभी चारै अप्सनमा उपलब्ध एसयूभी हो । परीक्षणमा देखिएको यो गाडी नयाँ सीएनजी अटोमेटिक प्रविधिको परीक्षण गरिरहेको हुन सक्छ । जुन अहिले नेक्सनमा उपलब्ध छैन ।
सीएनजी प्रविधिमा सधैं अगाडि रहन टाटाले नेक्सनमा सीएनजी अटोमेटिक विकल्प ल्याउन लागेको हुन सक्छ । टाटा बाहेक अहिले बजारमा अन्य कुनै पनि कम्पनीले सीएनजीमा अटोमेटिक विकल्प दिएका छैनन् । नेक्सनमा टर्बो पेट्रोल र सीएनजी अटोमेटिकको संयोजन भएमा टाटा यो क्षेत्रमा सबैभन्दा अगाडि रहनेछ।

