नेक्सन ईभीको फरक अवतार, थपियो नयाँ एडिशन

काठमाडौं । टाटाको सर्वाधिक सफल इलेक्ट्रीक एसयूभी नेक्सनमा कम्पनीले नयाँ नयाँ प्रयोग गर्दै आएको छ । भारत र नेपालमा नै सर्वाधिक विक्री हुने यो इलेक्ट्रीक एसयूभीको नयाँ जेट एडिशन बजारमा आएको हो ।

टाटा मोटर्सले यसअघि नै आफ्नो आईसी इन्जिन भएको एसयूभीहरु नेक्सन, ह्यारियर र सफारीको जेट एडिशन विक्री सुरु गरिसकेको थियो । केही महिना अघि कम्पनीले नेक्सन ईभीको डार्क एडिशन बजारमा ल्याएको थियो । नेपालमा पनि डार्क एडिशन विक्री सुरु भइसकेको छ ।

टाटाले नेक्सन ईभीको जेट एडिशन एक्सजेड प्लस लग्जरी भेरियन्टमा मात्रै उपलब्ध गराउने छ । जेट एडिशनमा कुनै पनि मेकानीकल परिवर्तन भएको छैन । यसमा ग्राहकले कस्मेटिक परिवर्तन र कलरमा फरकपन पाउने छन् ।

नेक्सन ईभीको जेट एडिशनमा स्टार लाइट डियूल टोन कलरको साथै ब्रन्ज बडी तथा सिल्भर रुफ पाउन सकिन्छ । यसको ग्रिलमा रहेको ईभीको लोगोमा नयाँ डार्क क्रोम फिनिस र अलोय ह्वीलमा नयाँ जेटव्ल्याक फिनिस दिएको छ ।

कम्पनीले जेट एडिशनको इन्टेरियरमा समेत ब्रन्ज र व्ल्याक कलर थिम दिएको छ । ड्यासबोर्ड तथा डोर प्यानलमा नयाँ ब्रन्ज ट्रिम रहेको छ । लेदर प्रयोग गरिएको डोरप्याडहरुमा भने ग्रेनाइट व्ल्याक फिनिस दिएको छ ।

नयाँ एडिशनको एसी भेन्टको वरिपरी र सेन्टर कन्सोलमा ब्लू कलरको हाइलाइट प्रयोग भएको छ ।


Back_to_top