चाँडै नेपाल आउन सक्ने टाटा नेक्सन इभीको सबल र कमजोर पक्ष

काठमाडौं । टाटाको पहिलो इलेक्ट्रीक एसयूभी नेक्सनले भारतमा निकै राम्रो विक्री पाइरहेको छ । कम्पनीले ल्याएको आफ्नो पहिलो इलेक्ट्रीक एसयूभी नेक्सनको सफलतासँगै कम्पनीले टिगोर इभीको फेसलिफ्ट मोडल पनि बाहिर ल्याएको छ ।

नेक्सन उसैपनि टाटाको प्यारेन्जर कार सेग्मेन्टमा गेमचेन्जर मोडल हो । यसको विक्री हरेक महिना बढ्दै गएको छ । आफ्नो सफल सब फोर मिटर एसयूभीलाई नै टाटाले पहिलो इलेक्ट्रीक एसयूभी बनाएकोले पनि यसको विक्री निकै राम्रो रहन सफल भएको हो ।

नेपालमा पनि टाटाको आधिकारीक वितरक सिप्रदी ट्रेडिङले यसलाई बजारमा उतार्ने तयारी सुरु गरेको छ । यस्तोमा टाटा नेक्सन इलेक्ट्रीक मनपराइनुका कारण र यसका केहि कमजोरी यहाँ हामीले प्रस्तुत गरेका छौं । यी सबै विषय टाटाले बाहिर ल्याएको यसको फिचरलाई तुलनात्मक अध्ययन गरेर तयार गरिएको हो ।

उत्कृष्ट डिजाइन

टाटाले बनाएको सबैभन्दा उत्कृष्ट डिजाइनको कारमा नेक्सन पर्छ । नेक्सनको फेसलिफ्ट मोडलमा थप उत्कृष्ट डिजाइन पस्कन टाटाले कुनै असर बाँकी राखेको थिएन । नेक्सन फेसलिफ्टबाट प्रेरित रहेको नेक्सन इभी आकर्षक रहेको छ ।

यसको आकर्षक डिजाइनले यसको विक्रीमा निकै ठूलो सहयोग गरिरहेको छ । नेपालमा पनि नेक्सनको विक्री निकै राम्रो रहेको छ । रेगुलर पेट्रोलबाट चल्ने नक्सनको जस्तै फ्रन्ट फेसिका र अलोय ह्वील इभीमा पनि प्रयोग गरिएको छ ।

फिचरले भरिपूर्ण

नेक्सन इभीमा टाटाले उत्कृष्ट फिचर प्रदान गरेको छ । यसमा सनरुफ, कनेक्ट कार फिचर, ७ इन्चको टीएफटी डिस्प्ले, प्रोजेक्टर हेडल्याम्प, एलइडी डेटाइम रनिङ लाइट, १६ इन्चको डायमन्ड कट अलोय ह्वील, अटो हेडल्याम्प, रेन सेन्सिङ वाइपर, हर्मनको ८ वटा स्पीकर, ७ इन्चको फ्लोटिङ इन्फोटेन्टमेन्ट सिस्टम, स्मार्टफोन कनेक्टीभीटी, मल्टी ड्राइभ मोड लगायतका फिचर पाउन सकिन्छ ।

उत्कृष्ट पर्फमेन्स

नेक्सनको अधिकतम पावर १२९ पीएस रहेको छ भने यसको पीक टर्क २४५ एनएम रहेको छ । यो कारले सून्यदेखि १०० किलोमिटरको रफ्तार ९.९ सेकेन्डमा भेट्टाउन सक्नेछ । सून्यदेखि ६० किलोमिटरको स्पीड भने ४.६ सेकेन्डमा भेट्टाउन सक्छ । अहिले बजारमा विक्री भइरहेको इलेक्ट्रीक गाडी मध्य नेक्सन इभीमा सबैभन्दा धेरै ग्राउन्ड क्लियरेन्स रहेको छ ।

सुरक्षीत कार

टाटा नेक्सनको आइसी इन्जिनयुक्त मोडल ग्लोवल एनक्याप क्र्यास टेष्टमा ५ स्टार रेटिङ पाउन सफल मोडल हो । तर, यसको इलेक्ट्रीक मोडलको क्र्यास टेष्ट भएको छैन । यद्यपी प्यासेन्जर सुरक्षामा दुबै गाडी समान रहेकोले यसलाई सुरक्षीत इलेक्ट्रीक एसयूभी मान्न सकिन्छ ।

कम मूल्य

टाटा नेक्सन अन्य विद्युतीय एसयूभीको तुलनामा कम मूल्यमा किन्न सकिने कार हो । भारतमा १३ लाखदेखि १६ भारतीय रुपैयाँमा विक्री भइरहेको यो एसयूभी नेपाल आउने हो भने टप भेरियन्टको ५५ लाख हाराहारीमा किन्न सकिने छ ।

केहि कमजोर पक्ष

टाटा नेक्सन इभीले एक पटकको फुल चार्जमा ३१२ किलोमिटर रेञ्ज दिने भनिएपनि यसले १९५ देखि २२० किलोमिटर मात्रै रेञ्ज दिने दाबी दिल्ली सरकारले गरेको छ । टाटाले यसमा ३०.२ किलोवाट आवरको लिथियम आयोन व्याट्री प्रयोग गरेको छ ।

यसको अर्को कमजोर पक्ष स्लो चार्ज हो । यसलाई घरायसी विजुलीबाट १० देखि ९० प्रतिशत चार्जगर्न करिब ८.५ घन्टा लाग्ने छ भने डिसी फास्ट चार्जरको प्रयोगले ६० मिनेटमा ८० प्रतिशतसम्म चार्ज हुन्छ । घरायसी चार्जरबाट यसलाई फुलचार्ज गर्न १० घन्टा लाग्ने हुँदा तुलनात्मक ढिलो चार्ज यसको कमजोर पक्ष मान्न सकिन्छ ।


Back_to_top