काठमाडौं । टाटाले भोलि सार्वजनिक गर्ने जनाएको नेक्सन इभी म्याक्सको टेक्नीकल डिटेल सार्वजनिक भएको छ । कम्पनीले जीप ट्रोन टेक्नोलोजीमा तयार गरेको म्याक्स पहिलेभन्दा १२५ किलोमिटर रेन्ज बढी आउने एआरएआईले प्रमाणित गरेको छ ।
अटोमोटीभ्स रिसर्च एशोसिएशन अफ इन्डियाले यसअघिको रेगुलर नेक्सन इभीले ३१२ किलोमिटर रेन्ज दिने जनाएको थियो भने नेक्सन इभी म्याक्सले ४३७ किलोमिटर रेन्ज दिने प्रमाणित गरेको हो । यद्यपि, सडकमा गुडाउँदा करिब २५ प्रतिशत रेन्ज कम आएको थियो ।
टाटाले नेक्सन इभी म्याक्समा ४०.५ किलोवाट आवरको व्याट्री प्याक दिएको छ । नेपालमा विक्री भइरहेको स्टायडर्ड ब्याट्री युक्त हुन्डाई कोना इभीको भन्दा ठूलो हो । कम्पनीले ब्याट्रीको क्षमतासँगै मोटरको क्षमता पनि बढाएको छ । म्याक्स मोडलमा १०६ किलोवाट क्षमताको मोटर दिइएको छ । यसको मतलव नयाँ म्याक्स मोडलले १४३ पीएस पावर र २५० एनएम टर्क प्रदान गर्छ ।
टाटाले नेक्सन इभी म्याक्स मोडल दुई भेरियन्टमा ल्याउने छ । जसमा जेडएक्स प्लस र जेडएक्स प्लस लग्जरी भेरियन्ट रहेको छ । नयाँ मोडलमा पुरानोको तुलनामा पार्किङ मोड, इलेक्ट्रीक पार्किङ ब्रेक, एयर प्यूरिफायर, वायरलेस चार्जर, हिल होल्ड एसिस्ट, इएसपी, भ्यान्टीलेटेड सिट थपिएर आउने छ ।
भोलि ११ मेमा सार्वजनिक गर्ने तयारी रहेको नेक्सन म्याक्स इभीको थप फिचर र मूल्य थाहा पाउन केही घन्टा कुर्नु पर्ने हुन्छ । टाटाको नेक्सन इभी नेपालमा पनि निकै सफल मोडल हुँदै गएको छ ।


