काठमाडौं । चिनियाँ स्टार्टअप कम्पनी नियोले आफ्नो तेस्रो ईभी मोडल देखाएको छ । कम्पनीले नयाँ ‘फायरफ्लाइ’ ब्राण्डमा ल्याउने पहिलो मोडल देखाएको हो ।
ब्राण्डसँगै नियोले पहिलो मोडलको नाम पनि फायरफ्लाइ नै राखेको छ । यो ईभीमा नियोको स्वापेवल ब्याट्री प्याक रहने छ । चिनियाँ बजारमा प्रिसेल सुरु भएको फायरफ्लाइ ह्याचव्याक कारको सुरुवाती मूल्य २० हजार ३९० अमेरिकी डलर तोकिएको हो ।
नियोका सीईओ विलियम लिलले ग्वान्झाओमा भएको नियो डे कम्फ्रेन्समा फायरफ्लाइ ईभी सन् २०२५ को अप्रिलबाट बिक्री गर्ने बताए । अप्रिलमा हुने संघाई अटोशोबाट यसको बिक्री सुरु हुने अनुमान गरिएको छ ।

नियोले युरोपियन बजारलाई लक्षीत गरेर फायरफ्लाइ ब्राण्ड घोषणा गरेको थियो । तर, युरोपियन युनियनले चिनियाँ ईभीलाई ठूलो मात्रामा कर बढाएकाले अब सुरुवातमा चीनबाटै लन्च गर्ने भएको हो ।
‘फायरफ्लाइ’ विद्युतीय ह्याचव्याक कारको अगाडि र पछाडि नै युनिक डिजाइन पाउन सकिन्छ । तीनवटा सर्कल लाइट रहेको कारको टर्निङ रेडियस केबल ४.७ मिटर हुनेछ । निकै आकर्षक डिजाइनमा तयार भएको फायरफ्लाइ मोडलको डिजाइन बीएमडब्लू र फोर्डमा काम गरेका कृस तोमासनले गरेका हुन् ।
हेर्दा ठिकठाकको साइजमा देखिएको विद्युतीय कारको ट्रङ्क क्षमता अगाडि ९२ लिटर र अधिकतम बुट स्पेश १२५० लिटरसम्म हुनेछ । यसको बढी स्ट्रक्चर पनि ८३.४ प्रतिशत हाइ स्ट्रेन्थ स्टीलले बनेको छ । सुरक्षाका लागि यसमा एडास सिस्टम र ९ वटा एयरव्याग उपलब्ध हुनेछन् ।
नियोको फायरफ्लाइले बीएमडब्लु मिनी, मर्सिडिज र जिलीको संयुक्त लगानी भएको स्मार्ट र फक्सवागेन आइडी ३ सँग प्रतिस्पर्धा गर्नेछ ।

