एनपीएल, कार ब्राण्ड र प्रतिस्पर्धा

काठमाडौं । सीमित क्षेत्रका कम्पनीले मात्रै विज्ञापनमा खर्च गर्ने हाम्रो समाजमा क्रिकेट एशोसिएशन अफ नेपाल (क्यान) ले पहिलो पटक आयोजना गरेको नेपाल प्रिमियर लिग (एनपीएल)ले भने राम्रो विज्ञापन पायो ।

एनपीएलको पहिलो संस्करणमा नै पाएको सफलताबाट खेलप्रेमीहरू हौसिएका छन् । त्यसैले त टोलटोलमा क्रिकेट खेल आयोजना हुने खबरहरू आउन थालेका छन् । जय नेपाल कप, मेयर कप, प्रवुद्ध व्यक्तिको नाममा कपको चहलपहल सुरू भएको छ । यसले खेललाई सकारात्मक दिशामा लाने सहजै अनुमान गर्न सकिन्छ ।

तर, यहाँ हामीले चर्चा गर्न खोजेको विषय एनपीएलमा कुन कुन कार ब्राण्ड जोडिए र क-कसले क्रिकेटसँग जोडिएर विज्ञापन बजारमा खर्च गरे भन्ने कुरा हो ।

सबैभन्दा धेरै विज्ञापन खर्च दीपल एस-०७ ले गर्यो । पूर्व राष्ट्रिय टीमका कप्तान तथा अहिलेको एनपीएलका मुख्य केन्द्र, क्यानका सचिव पारस खड्का ब्राण्ड एम्बास्डर रहेको दीपल ब्राण्डले हरेक ब्रेकमा विज्ञापन बजायो । उसोत सुरूमै एनपीएलसँग जोडिने चर्चा चले पनि केही कारण चुकेको दीपलले पारस खड्काको क्रेजलाई रामै सदुपयोग गर्न सफल भयो । उसको एनपीलसँग जोडिने चाहना भने पूरा भएन ।

ओमोडा/जेको ब्राण्डको आधिकारिक बिक्रेता एसपीजी अटोमोबाइलले एनपीएलसँग जोडिएर आफ्नो उत्कृष्ट एसयूभी मैदानमै राख्न सफल भयो । उत्कृष्ट नेपाली खेलाडीलाई दिने घोषणा भएको ओमोडा ई–५ कार जितेका दीपेन्द्र सिंह ऐरीले मैदानमै चलाएका तस्वीरहरू आज पनि सामाजिक संजालमा भाइरल छन् ।

एनपीएलको काठमाडौं गुर्खाजसँग जोडिएको बीवाइडीले पनि राम्रै विज्ञापन गर्न सफल भयो । टीमको जर्सीमा बीवाइडी लेखेर खेलाडी मैदानमा आए । तर, ठिकठाकको प्रदर्शन भएको कारण टीमले बीवाइडीलाई धेरै फाइदा भने दिन सकेन । तथापि, उसले एटो–थ्रीको विज्ञापन बजाउने थलोको रूपमा पनि टेलिभीजन प्रयोग गर्यो ।

कर्णाली याक्सले पनि अटोमोबाइल ब्राण्ड विज्ञापन दाताको रूपमा पायो । कर्णालीलाई महिन्द्राले प्रायोजन गरेको थियो । यसका अलावा लीप मोटर्स लगायतका ब्राण्डले पनि विज्ञापन बजाएर भए पनि एनपीएलसँग जोडिए ।

अर्को वर्ष थप ब्राण्ड जोडिने

पहिलो संस्करण नै सोचेभन्दा धेरै सफलताका साथ सम्पन्न भएकोले एनपीएलको अर्को संस्करण चर्चा अहिल्यै सुरू भइसकेको छ । नेपालमा कार ब्राण्डहरू थपिने क्रम बढी रहेको र उनीहरूले आफूलाई स्थापित गर्ने थलोको रूपमा यसलाई लिएको कारण आगामी संस्करणमा विज्ञापनदाताहरू बीच राम्रै प्रतिस्पर्धा हुने देखिन्छ ।


Back_to_top