काठमाडौं । एमएडब्लू वृद्धिले नेपाल ल्याएको चांगानको ‘निभो ई-०७’ गाडीको मूल्य १ करोड ४ लाख रुपैयाँ तोकिएको छ । कम्पनीले नेपाल आएको पहिलो युनिट कार भन्सार छुटाउन अधिकतम खुद्रा बिक्री मूल्य प्रकाशन गरेको हो ।
कम्पनीले अहिले प्रकाशित गरेको मूल्य बिक्री सुरु गर्दा फरक भने हुन सक्नेछ । रोचक कुरा के छ भने निभो ई-०७ गाडीलाई एउटा वटन थिचेकै भरमा एसयूभी र पीकअप बनाउन सकिन्छ ।
चालकको इच्छा र आवश्यकता अनुसार निभो ई-०७ को उपयोग नै परिवर्तन गर्न सकिन्छ । अर्को कुरा यो एउटा प्योर ब्याट्री इलेक्ट्रीक भेहिकल हो । यसले आधुनिक उपभोक्ताको विविध आवश्यकतालाई सम्बोधन गर्ने कम्पनीको दावी छ ।
पारम्परिक एसयूभीको विपरित निभो ई-०७ केही सेकेन्डमै पीकअपमा परिणत हुन सक्छ । यसको स्लाईड हुने ग्लास क्यानोभीका कारण पिकअप वेड पनि मज्जाले देखिन्छ । आउडीको एक्टिभस्फेयर कन्सेप्टबाट प्रभावित उक्त फिचरले ठूला सामान सार्नेदेखि आउटडोर एड्भेन्चर जस्ता विविध गर्न सहयोग गर्छ ।
नेपाल आएको निभो ई-०७ ८९.९ किलोवाट आवर क्षमताको ब्याट्री उपलब्ध छ । उक्त ब्याट्रीलाई फुल चार्ज गरेर ६४० किलोमिटरसम्म चलाउन सकिने सीएलटीसीले प्रमाणित गरेको छ । यसमा १९० किलोवाट क्षमताको पावरफुल मोटर पाउन सकिन्छ ।

