काठमाडौं । आर्थिक संकटसँग जुधिरहेको जापानी कार ब्राण्ड निसानले खर्च कटौतीको योजना तयार परेको छ । कम्पनीले खर्च घटाउन र कम्पनी जोगाउन कै लागि आफ्नो हेडक्वाटरसमेत बिक्री गर्ने योजना बनाएको हो ।
ब्यक्तिले आफ्नो घर नै बिक्री गर्ने अवस्था आउनु भनेको आर्थिक रुपमा कठिन अवस्था आएपछि मात्रै हो । यसैसँग जोडेर निसान पनि निकै कठिन अवस्थाबाट गुज्रिएको अनुमान गर्न सकिन्छ ।
जापानी ब्राण्डले लागत कम गर्न आफ्ना विश्वभर रहेका १७ प्लान्ट मध्ये ७ वटा प्लान्ट बन्द गर्ने घोषणा गरिसकेको छ । निसान त्यतिमै रोकिएको छैन । उसले अहिले आएर जापानको योकोहामामा रहेको ग्लोबल हेडक्वाटर बिक्री गर्ने निर्णय लिएको हो ।
कम्पनीले सन् २००९ मा २ वर्ष लगाएर बनाएको उक्त हेडक्वाटरको लागत १०० बिलियन यन अर्थात् ७०० मिलियन अमेरिकी डलर थियो । यति ठूलो प्रोपर्टी बिक्री गर्ने निर्णयमा निसान पुगेको हो ।
निसानले गत मार्च महिनामा तयार गरेको बिक्री गर्ने प्रोपर्टी सूचीमा हेडक्वाटर राखेपनि बिक्रीपछि भाडामा त्यहि भवन लिएर कार्यालय संचालन गर्ने सर्तमा मात्रै बिक्री गर्ने उल्लेख गरेको थियो ।
निसानले गत वर्ष ४.५ बिलियन डलर घाटा खाएसँगै कस्ट कटिङका लागि विभिन्न स्थानमा रहेका प्लान बन्द गर्ने, २० हजार कर्मचारी कटौती गर्ने लगायतका विषमा काम गरिरहेको छ ।
कम्पनीले खर्च कटौती कै लागि केही नयाँ मोडलको विकासलाई पनि तत्कालको लागि थाँती राखेको छ । साथै, रिसर्च एण्ड डेभलपमेन्टमा रहेका ३ हजार कर्मचारीलाई अन्य डिपार्टमेन्टमा समायोजन गरेको छ ।


