दशैंमा इलेक्ट्रीक स्कुटर: एनआइयूले ५० हजारसम्म नगद छुट दिने (मूल्यसहित)

काठमाडौं । एनआइयू ब्रान्डका इलेक्ट्रीक स्कुटरको आधिकारिक वितरक इको इन्फिनिटीले फेस्टिभ अफर सार्वजनिक गरेको छ । कम्पनीले दशैं तथा तिहारको उपलक्ष्यमा एनआइयू स्कुटर किन्दा ५० हजार रुपैयाँसम्म छुट दिने योजना सार्वजनिक गरेको हो । 

कम्पनीले आफ्नो हरेक स्कुटरको खरिदमा ग्राहकले निःशुल्क हेलमेट, मोटर तथा ब्याट्रीमा दुई वर्षको वारेन्टीसमेत प्रदान गर्ने जनाएको छ ।

नेपाली बजारमा इलेक्ट्रीक स्कुटरको विभिन्न ब्राण्डहरु उपलब्ध रहेको भएपनि एनआइयू सबैभन्दा विश्वासिलो ब्रान्डको रुपमा स्थापित हुन सफल भएको छ । 

एनआइयूका आकर्षक स्कुटर नेपाली बजारमा बिक्री सुरु भएको २ बर्ष पुरा भइसकेको छ । यस अवधिमा कम्पनीले स्कुटरमा नम्बर प्लेट, बीमा, बैकिङ्ग लगायतका प्रक्रिया पुरा गर्दै नेपाली ग्राहकको मन जित्न सफल भएको छ । 

आफ्नो २ वर्षे सफलताबाट हौसियतको कम्पनीले ग्राहकको मागलाई मध्यनजर गर्दै ५० हजारसम्मको छुट अफर ल्याएको जनाएको छ । 

‘यस योजना अन्तर्गत ग्राहकले ७ हजार देखि ५० हजारसम्म जित्न सक्ने छन् भने अन्य केही उपहारसमेत पाउने छन्’, कम्पनीका हेड विजनेश एण्ड मार्केटिङ उज्जल जोशीले मेरोअटोसँग भने । 

उक्त स्किममा एनआईयूको शोरुमहरु माइतीघर, नक्साल, पोखरा, बुटवल र इटहरीबाट सहभागी हुन सकिने कम्पनीले जानकारी दिएको छ ।

कम्पनीले विभिन्न ७ वटा ‘क’ बर्गको बैंकमार्फत फाइनान्स सुविधा समेत उपलब्ध गराउदै आएको जनाएको छ । बजारमा एनआइयूका एन सिरीज र एनजीटी सिरीजका स्कुटर बिक्री वितरण हुँदै आएको छ । 

स्टाइलिस उच्च माइलेज तथा पोर्टएबल ब्याट्री जस्ता बिशेषताका कारण एनआइयूका स्कुटरहरु नेपाली बजारमा लोकप्रिय हुँदै गइरहेको छ । 

कम्पनीले एनआइयू एन सिरिजको स्कुटर २ लाख ५४ देखि २ लाख ६० हजार रुपैयाँमा बिक्री वितरण गर्दै आएको छ । यसमा ६० भोल्टको पानासोनिकको व्याट्री प्रयोग गरिएको छ भने २४०० वाटको मोटर प्रयोग गरिएको छ । एक पटकको फुल चार्जमा यसले ५० देखि ७० किलोमिटरसम्म रेञ्ज दिने कम्पनीले दाबी गरेको छ । 

त्यसैगरी एनजीटी एनआइयूले बजारमा बिक्री गर्दै आएको सबैभन्दा महंगो मोडल हो । यसको मूल्य कम्पनीले ४ लाख २५ हजार रुपैयाँ तोकेको छ । यसले एक पटकको चार्जमा १३० किलोमिटरसम्मको माइलेज प्रदान गर्नेछ । यसमा ३००० वाटको मोटर दिइएको छ भने डबल व्याट्री रहेको छ ।


Back_to_top