काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले फेरि ‘नो हर्न’ अभियान सुरू गरेको छ। अनावश्यक रूपमा हर्न बजाउने बढेको भन्दै कार्यालयले पुनः ‘नो हर्न’ अभियान थालेको हो।
सवारी साधनबाट हुने ध्वनी प्रदूषण कम गर्न ‘नो हर्न’ अभियानलाई पुनः सुरू गरिएको ट्राफिक प्रहरीले जनाएको छ । यही कार्तिक १ गतेदेखि यता काठमाडौंका चोकचोकमा ‘नो हर्न’ लेखिएका ‘प्लेकार्ड’ सहित ट्राफिक प्रहरी खटिएका छन्।
काठमाडौं उपत्यकामा २०७४ वैशाख १ गतेदेखि ‘हर्न निषेधित क्षेत्र’ घोषणा गरिएको थियो । ‘नो हर्न’ लाई अभियानकै रुपमा संचालन गर्दै जनचेतनामूलक गोष्ठी, कार्यक्रम, सचेतनामूलक पर्चा पम्प्लेट वितरण, नो हर्न स्टिकर टाँस्ने लगायत व्यापक प्रचार पसार गरि हर्नको अनावश्यक प्रयोगमा कमी ल्याएको थियो ।
सुरूआती दिनमा ‘नो हर्न’ अभियान प्रभावकारी भए पनि क्रमशः हर्नको प्रयोगमा वृद्धि भएपछि अहिले ट्राफिक प्रहरीले कडाइका साथ कारवाही समेत गर्दै आएको छ ।
सवारी तथा यातायात व्यवस्था ऐन २०४९ ले समेत ध्वनी संकेत दिन निषेध गरेको स्थानमा ध्वनी संकेत दिएमा वा वजाएमा ट्राफिक नियम उल्लंघन हुने स्पष्ट व्यवस्था छ ।
अनावश्यक हर्न बजाएर उत्पन्न हुने ध्वनी प्रदूषणलाई कम गर्न कडाइका साथ प्रस्तुत हुँदै आएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक भरत बहादुर बोहराले जानकारी दिए ।
काठमाडौं उपत्यकामा गुड्ने करिब १५ लाख सवारी साधनबाट निस्किने धुवाँसँगै ध्वनीको प्रदूषणको कारण जनस्वास्थ्यमा ठूलो असर गरेको छ । जसको प्रत्यक्ष मारमा स्वयंम ट्राफिक प्रहरी रहने गरेको डीआजी बोहराले प्रष्ट्याए ।
गत आव २०८०/८१ मा अनावश्यक रुपमा हर्नको प्रयोग गर्ने १० हजार १२३ सवारी साधनलाई ट्राफिक प्रहरीले कारवाही गरेको थियो । चालु आवमा १३ हजार ३०० सवारी साधनलाई कारबाही गरिसकिएको ट्राफिक प्रहरीले जनाएको छ ।
सामान्यत मानिसको सामान्य सुन्ने क्षमता २६ डेसिबलसम्म हुने र सुन्नका लागि ६० डेसिबलसम्मको ध्वनी स्वीकारयोग्य हुन्छ । ७० डेसिबलको ध्वनी स्वास्थ्यको लागी हानिकारक मानिन्छ ।