नेपाल आउने एमजी ईएस-५ र दीपल एस-०५ मा कुन राम्रो ?

काठमाडौं । चीनमा सार्वजनिक भएको एमजी ईएस-५ र दीपल एस-०५ सन् २०२५ को सुरूआतमै नेपाल आउने मोडल हुन् । कम्प्याक्ट मिडसाइज एसयूभी सेग्मेन्टमा आउने यी दुवै मोडल चिनियाँ बजारमा एकदमै सस्तो मूल्यमा आएको कारण धेरैले चर्चा गरिरहेको मोडल हो ।

यी दुवै एसयूभी चिनियाँ बजारमा १५ हजार डलर हाराहारीमा मूल्यमा बिक्री सुरू हुँदै छन् ।

नेपाली बजारमा एमजी विगत ६ वर्षदेखि बिक्री हुँदै आएको ब्राण्ड हो । सफलताको झण्डा गाडिसकेको एमजीले ल्याउने नयाँ मोडलको चर्चा स्वभाविक छ । त्यस्तै, आफ्नो पहिलो मोडल एस-०७ बाट बजारमा नयाँ तरङ्ग पैदा गरेको दीपलले ल्याउने गाडीले पनि स्वभाविक रूपमा चर्चा पाउने नै भयो ।

यस्तोमा नेपाली बजारमा आउन लागेका यी दुई मोडलमा रहेका फिचर लगायतका विषयमा यहाँ हामीले चर्चा गरेका छौं ।

डिजाइन

एमजी ईएस-५ मा क्लोज फ्रन्ट फेसिया, सार्प हेडलाइट तथा बटममा स्प्लीट ग्रिल डिजाइन दिएको छ । यसमा कन्भेन्सनल डोर ह्याण्डल, सिल्भर रुफ लगेज र्याक, वाई आकारको थ्रु टाइप हेडलाइट पाउन सकिन्छ । एमजीले यसलाई १७ र १८ इन्चको ह्वीलमा ल्याउने छ । पछाडि कनेक्टेड ब्याक लाइट डिजाइन छ ।

त्यस्तै, दीपलको एस-०५ स्पोर्टी देखिएको छ । यसमा पनि क्लोज फ्रन्ट ग्रिल र तीनवटा सेग्मेन्ट भएको लोअर इनटेक छ । इलेक्ट्रीक ट्रङक, इलुमिनेटेड रिङ लाइट, पिक्सलेटेड हेडलाइट तथा हिडन फ्लस डोर ह्याण्डल यसमा प्रयोग भएको छ ।

डायमेन्सन

एमजीको डेडिकेटेड ईभी प्लेटफर्ममा बनेको ईएस-५ को लम्बाइ ४४७६ एमएम, चौडाइ १८४९ एमएम र उचाइ १६२१ एमएम छ । यस एसयूभीको ह्वील बेस २७३० एमएम छ । कर्भ वेट भने १७४० केजी छ ।

त्यस्तै, दीपल एस-०५ को लम्बाइ ४६२० एमएम, चौडाइ १९०० एमएम र उचाइ १६०० एमएम छ । यसको ह्वील बेस २८८० एमएम छ । साइजको आधारमा दीपल एस-०५ केही ठूलो छ ।

क्याबिन फिचर

दुवै ईभीमा १५.४ इन्च ठूलो साइजको सेन्टर स्क्रीन छ । एसी लगायतका सबै फिचर यही स्क्रीनबाट कन्ट्रोल हुन्छन् । गियर सेलेक्टर पनि दुवै एसयूभीमा स्टेरिङ कोलुममा नै छ । सेन्टर कन्सोलमा आर्मरेष्ट, कप होल्डर तथा मोबाइल वायरलेस चार्जिङ प्याड पाउन सकिन्छ ।

एमजी ईएस-५ मा इन्ट्रुमेन्ट क्लस्टरको लागि छुटै स्क्रीन दिएको छ भने दीपल एस-०५ मा छैन । दीपलले आफ्नो एसयूभी ड्राइभर इन्फर्मेसनको लागि एचयूडी डिस्प्ले नै दिएको छैन । दुवै एसयूभीमा मल्टिफङ्सनल फ्ल्याट बटम स्क्रीन दिएको छ । पानारोमिक सनरुफ, एम्बियन्ट लाइट र रियर एसी भेन्ट दुवैमा छ ।

दीपलले सेन्टर कन्सोलमा १३ लिटरको टेम्प्रेचर इन्सुलेटेड स्टोरेज कन्टेनर दिएको छ । यसका साथै क्याबिनमा ३५ वटा स्टोरेज स्पेश उपलब्ध छ ।

दीपल एस-०५ टेक्नोलोजीको मामलामा निकै अगाडि देखिन्छ । यो एसयूभीमा क्वालकम स्न्याप ड्रागन ८१५५ चीप प्रयोग भएको छ । सेन्टर स्क्रीनले २.५ के सपोर्ट गर्नेछ । यसमा ६४ जीबी स्टोरेज सहितको फोरके इन्टेलिजेन्ट गिम्बल क्यामरा दिइएको छ । जसमा २१ हजार वटा फोटो तथा १२ घण्टा लामो भिडियो स्टोर गर्न सकिन्छ ।

मोटर र ब्याट्री अप्सन

एमजी ईएस-५ मा ४९.१ र ६२.२ किलोवाट आवरको लिथियम आइरन फस्फेट ब्याट्री अप्सन पाउन सकिन्छ । यी ब्याट्रीको सीएलटीसी रेन्ज ४२५ र ५२५ किलोमिटरसम्म छ । सीएटीएल र एसएआईसीको जोयन्ट भेन्चरले बनाएको यो ब्याट्री विश्वको सबैभन्दा पातलो ब्याट्री हो ।

एमजी ईएस-०५ को चौडाइ मात्र ११० एमएम छ । यो एसयूभीमा रियर ह्वील ड्राइभ १२५ किलोवाटको मोटर रहने छ । यो मोटरले १६८ हर्सपावर तथा २५० न्यूटन मिटरको टर्क जेनेरेट गर्छ ।

त्यसैगरी, दीपलको एस-०५ मा ५६.१२ किलोवाट अवारको एलएफपी ब्याट्री रहेको छ । यो ब्याट्रीले एकपटकको फुलचार्जमा ५१० किलोमिटरसम्म रेन्ज दिने सीएलटीसीले दावी गरेको छ ।

थ्रीसी फास्ट चार्जिङ सपोर्ट गर्ने यो ब्याट्रीलाई मात्र १५ मिनेटमा ३० बाट ८० प्रतिशतसम्म रिचार्ज गर्न सकिन्छ । यो ईभीमा १७५ किलोवाटको इलेक्ट्रीक मोटर रहेको छ । यसले २३५ हर्सपावर तथा ३२० न्यूटन मिटरको टर्क जेनेरेट गर्छ ।

 


Back_to_top