काठमाडौं । बेलायती चर्चित मोटरसाइकल निर्माता रोयल इनफिल्डले दुई नयाँ मोटरसाइकल चाँडै बजारमा ल्याउने भएको छ ।
कम्पनीले रोयल इनफिल्ड हन्टर ३५० मोडलको नयाँ भेरियन्ट र हिमालयन ४५० मोटरसाइकलको अपग्रेड भर्सन र्याली एडीसन मोडल बजारमा ल्याउने भएको हो ।
यी दुवै मोटरसाइकल परीक्षणको क्रममा भारतीय बजारमा देखिएका छन् । कम्पनीको लाइनअपमा सदावहार क्लासिक ३५० पहिलो स्थानमा छ भने हन्टर ३५० ले छोटो समयमा दोस्रो स्थान जमाएको छ । सार्वजनिक भएपछि निकै चर्चा कमाएको हन्टर ३५० मा कम्पनीले हेडलाइट र रियर सकमा अपग्रेड गरेको छ ।
हाल बजारमा रहेको हन्टरको रियरमा लिनियर स्प्रिङ सक र हेलोजन हेडलाइटको प्रयोग गरिएको छ भने नयाँ भेरियन्टमा कम्पनीले एलईडी हेडलाइट र अझै बढी कम्फर्टेबल बनाउनका लागि रियरमा प्रोग्रेसिभ स्प्रिङ सकको प्रयोग गरेको बाहिरिएको फुटेजमा देखिएको छ ।
यस बाहेक अन्य परिवर्तन बारे विस्तृतमा केही सार्वजनिक भएको छैन । यद्यपि, नयाँ भेरियन्टमा अन्य केही फिचरहरू पनि थप भएर आउने भारतीय मिडियाहरूले बताएका छन् ।
यसका अलावा रोयल इनफिल्डको अर्को चर्चित एड्भेन्चर मोटरसाइकल हिमालयन ४५० को नयाँ र्याली एडिसन मोडल भने निकै परिवर्तन भएर आउने अनुमान गरिएको छ ।
परीक्षणको क्रममा देखिएको यस मोटरसाइकल हालको हिमालयन भन्दा अझै बढी अफरोडलाई फोकस्ड गरेर निर्माण गरिएको छ । र्याली मोडलमा नयाँ अपस्वीप्ट एग्जस्ट, नयाँ टेल काउल, मोटोक्रसमा प्रयोग गरिने सिंगल पिस फ्ल्याट सिट, डबल पर्पस पूर्ण एड्भेन्चर टायर, नयाँ ट्युबलेस क्रस स्पोक ह्वील र नयाँ ह्यान्डगार्ड पाउन सकिन्छ ।
यस बाहेक नयाँ मोडलमा अन्य फिचर सुविधासमेत थप भएर आउने अनुमान गरिएको छ । दुवै मोटरसाइकलको इन्जिनमा भने कुनै परिवर्तन हुने छैन ।

