काठमाडौं । सरकारले आगामी भदौ मसान्तसम्म कुनै पनि बाहानामा सडक खन्न प्रतिबन्ध लगाएको छ ।
सडक विभाग अन्तर्गतको संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय काठमाडौंले एक सूचना जारी गर्दै भदौ मसान्तसम्म धारा, ढल, बिजुली, टेलिफोन लगायतका प्रयोजनका लागि सडक खन्न रोक लगाएको हो ।
वर्षायाममा सडक खन्दा तत्कालै मर्मत गरी यथास्थितिमा सञ्चालनमा ल्याउन नसकिने भन्दै कार्यालयले मातहतका सडक डिभिजनहरूलाई कुनै पनि सडक खन्ने स्वीकृति नदिन भनेको हो ।
‘वर्षायाममा धारा, ढल, बिजुली, टेलिफोन आदि प्रयोजनको लागि सडक खन्दा तत्कालै मर्मत सम्भार गरी यथास्थितिमा ल्याउन नसकिने र सडक पनि थप बिग्रँदै जाने भएकोले मिति २०८२ साल असार ३ गतेदेखि २०८२ साल भदौ मसान्तसम्म यस कार्यालय अन्तर्गतका सडक डिभिजनहरू मातहतमा रहेका कुनै पनि सडक खन्न स्वीकृति नदिइने’ सार्वजनिक सूचनामा भनिएको छ ।
कसैले जबर्जस्ती सडक खनेमा सार्वजनिक सडक ऐन २०३१ अनुसार कडा कारबाही गरिने कार्यालयले जनाएको छ ।