काठमाडौं । नाडा अटो शो २०२३ मा चर्चित ४ ब्राण्डले आफ्ना उत्पादन प्रदर्शनी नगर्ने भएका छन् । विशेषगरी विश्व चर्चित ब्राण्डहरुको उपस्थिति नहुने भएको हो ।
विश्वकै ठूला कम्पनीहरु टोयोटा र फक्सवागेन अटो शोमा हुने छैनन् । यी दुबै कम्पनी विश्व बजारमा सर्वाधिक कार बिक्री गर्ने ब्राण्ड हुन् । त्यसको अलावा अमेरिकी ब्राण्ड जीपका उत्पादन पनि अटो शोमा हुनेछैन ।
दुई पाङ्ग्रे सवारीसाधन बिक्री गर्ने ठूला मध्येको एक ब्राण्ड यामाहाले पनि अटो शोमा सहभागिता जनाउने छैन । कम्पनीहरुले आफ्नो सहभागिता नहुनुलाई नयाँ प्रोडक्ट नभएर भनेका छन् । यद्यपि, बजारमा देखिएको समस्याकै कारण सहभागी नभएको मान्नेहरु पनि छन् ।
टोयोटा
टोयोटा आफ्नो नयाँ मोडल भएको वर्षमा अटो शोमा सहभागिता जनाउँदै आएको ब्राण्ड हो । सन् २०१९ को अटो शोमा सहभागि भएको टोयोटा यस पटक भने सहभागी भएन ।

यूनाइटेड ट्रेडर्स सिन्डिकेट प्रालिका अनुसार टोयोटासँग अहिले देखाउन ब्राण्ड न्यू मोडल नभएकै कारण सहभागी नभएको हो । टोयोटासँग अहिले आफ्नो पुरानै लाइनअपका ल्याण्डक्रुजर, प्राडो, फर्चुनर, र्याभफोर, कोरोला क्रस, हाइलक्स र राइज जस्ता मोडल मात्रै छन् । यी सबै मोडल निकै पहिलादेखि बजारमा छन् ।
यामाहा
जापानी मोटरसाइकल निर्माता यामाहाका उत्पादन नेपालमा निकै सफल मानिन्छन् । अहिले बजारमा उपलब्ध आर १५ भी फोर, एमटी १५, एफजेड भी फोर, फसिनो, रेजेड आर जस्ता मोटरसाइकल र स्कुटर पहिल्यैदेखि नेपालमा रहेको र नयाँ मोडल आउने अवस्था नरहेको कारण एमएडब्लू इन्टरप्राइजेजले अटो शोमा भाग नलिएको जनाएको छ ।

योसँगै अहिले निरन्तर माटरसाइकलको बिक्रीमा आएको गिरावटको कारण पनि यामाहाले अटो शोमा सहभागीताको लागि चासो नदेखाएको धेरैको बुझाई छ ।
फक्सवागेन
फक्सवागेन विश्वकै ठूलो मध्येको एक उत्पादक हो । पुजा इन्टरनेशनल नेपालले फक्सवागेनका कार नेपालमा बिक्री गर्दै आएको छ । नेपाली बजारमा फक्सवागेनले भारत र यूरोपमा उत्पादन गरेको केही मोडल मात्रै उपलब्ध गराएको छ ।

कम्पनीसँग पनि मासमा बिक्री गर्ने साना पोलो जस्ता मोडल नहुँनु र ठूलामा पनि नयाँ मोडल नहुँदा सहभागीता नजनाएको प्रस्टै हुन्छ । साथै, विश्वकै तेस्रो धेरै ईभी उत्पादक भएपनि नेपालमा फक्सवागनले ईभी ल्याउन सकिरहेको छैन ।
जीप
अटो शो २०१८ बाट नेपाल प्रबेश गरेको अमेरिकी एसयूभी एक्सपर्ट जीपले पनि नाडा अटो शोमा प्रदर्शनी नगर्ने भएको हो । एमएडब्लू लाइफ अटोमोवाइलले बिक्री गर्दै आएको जीपसँग अहिले नयाँ मोडल नहुँनु र साना गाडीको अभावमा नै अटो शोमा सहभागीता नजनाएको हो ।


