काठमाडौं । अब मयूर यातायातका बस चढ्दा कार्ड मार्फत नै भाडा तिर्न सकिने भएको छ । नमस्ते पे र मयूर यातायात बीचको सहकार्यमा एनएफसी मेट्रो कार्ड सेवा संचालनमा ल्याइएको हो ।
हाल मयूर यातायातका २५ वटा बसमा एनएफसी मेट्रो कार्ड प्रणाली जडान गरिएको छ । नमस्ते पेले कार्ड मार्फत भाडा भुक्तानीका लागि मयूरका बसहरूमा स्मार्ट पोइन्ट अफ सेल (पीओएस) मेसिन उपलब्ध गराइएको छ ।
यात्रुहरूले कार्ड लिनका लागि नमस्ते पेको एप डाउनलोड गरी होम पेजमा गएर आवेदन दिनु पर्नेछ । यद्यपि, जेठ ३ गतेदेखि मात्रै कार्डका लागि आवेदन दिने व्यवस्था मिलाइने नमस्ते पेले जनाएको छ ।
कम्पनीका अनुसार कार्ड छापिएपछि यात्रुहरूले तोकिएका केन्द्हरूबात लिन सक्नेछन् । धुलिखेल–माछापोखरी रुटका बस स्टेसन नजिकै कार्ड संकलनका लागि केन्द्रहरू तोकिने कम्पनीले जानकारी दिएको छ ।
कार्ड प्रयोगकर्ताले नमस्ते पे वालेट मार्फत मेट्रो कार्डमा पैसा लोड गर्न सक्नेछन् । हाललाई एकपटकमा ५ हजार रुपैयाँसम्म लोड गर्न सक्ने व्यवस्था गरिएको छ ।
मेट्रो कार्ड बाहक यात्रुले अब मयूर यातायात मार्फत यात्रा गर्दा भाडा नगदमा भुक्तानी गर्नुपर्दैन । सिधै कार्डमार्फत तिर्न सक्छन् । कार्डलाई बसमा रहेको पीओएस मेसिनमा स्क्यान गरेपछि सरकारले तोकेको भाडादर दूरी अनुसार स्वतः रकम काटिने छ । साथै, कार्डवाहकले मेट्रो कार्डमा आबद्ध भएका बसहरूको लाइभ लोकेसन पनि हेर्न सक्नेछन् ।
मयुर यातायातले हाल काठमाडौंको माछापोखरीदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्म सेवा प्रदान गर्दै आएको छ ।


