अब नेपालीले पनि निजी हवाई जहाज किन्न पाउने

काठमाडौं । अब नेपाली नागरिकले पनि निजी हवाई जहाज किन्न पाउने व्यवस्था गरिने भएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले तयार पारेको ‘राष्ट्रिय हवाई नीति २०८२’ को मस्यौदामा यस्तो व्यवस्था प्रस्ताव गरिएको हो ।

‘निजी प्रयोजनको लागि कुनै व्यक्ति वा संस्थालाई वायुयान संचालन गर्न अनुमति दिने व्यवस्था गरिने छ । अनुमति दिँदा व्यापारिक उडान गर्न नपाउने गरी हवाई उडान सुरक्षा र हवाई सुरक्षाका अनिवार्य प्रावधानसहित आवश्यक शर्तहरू तोकिनेछ,’ प्रस्तावित मस्यौदामा भनिएको छ ।

यो व्यवस्था जस्ताको तस्तै पास भएमा नेपालमा पहिलोपटक व्यक्तिगत प्रयोजनका लागि जहाज खरिद गर्न पाइने छ । हाल नेपालमा व्यवसायिक प्रयोजनका लागि मात्रै हवाई जहाज तथा हेलिकप्टर किन्न पाइने व्यवस्था छ । यद्यपि, निजी प्रयोगका लागि जहाज चार्टर गर्न भने पाइन्छ ।

विश्वका धेरै जसो मुलुकमा भने निजी प्रयोजनका लागि पनि जहाज किन्न पाइने व्यवस्था छ ।

मन्त्रालयले नयाँ हवाई नीतिको मस्यौदा प्रारम्भिक छलफलका लागि सार्वजनिक समेत गरेको छ । सरोकारवालाहरूबाट प्राप्त सुझावलाई समेटी मस्यौदालाई अन्तिम रुप दिइने मन्त्रालयले जनाएको छ ।


Back_to_top