काठमाडौं । याडियाको इलेक्ट्रीक मोटरसाइकल नेपाल आउने भएको छ । कम्पनीले याडियाको नेकेड स्पोर्टस डिजाइनमा तयार भएको ‘किनेस’ इलेक्ट्रीक मोटरसाइकल नेपाल ल्याउने भएको हो ।
याडिया इलेक्ट्रीकका लागि नेपालको आधिकारिक बिक्रेता कम्पनी कुजु नेपालले साउनमा हुने नाइमा नेपाल मोबिलिटी एक्स्पोमा मोटरसाइकल सार्वजनिक गर्ने तयारी थालेको हो ।
याडिया किनेस मोटरसाइकलमा ११ किलोवाट पीक पावर क्षमताको मोटर दिएको छ । यो मोटरले २८० एनएम टर्क जेनेरेट गर्छ । यो मोटरसाइकलको टप स्पीड क्षमता १०० किलोमिटर प्रतिघण्टा रहेको छ । शून्यदेखि ५० को स्पीड ४ सेकेन्डमा पूरा गर्छ । यसको क्लाइम्ब क्षमता २० डिग्री रहेको छ ।
याडियाले यो मोटरसाइकलमा ७२ भोल्ट ३२ एम्पीयर आवरको दुई लिथियम आयन ब्याट्री प्याक दिएको छ । यसलाई एकपटक फुलचार्ज गरेर १५० किलोमिटरसम्म गुडाउन सकिने कम्पनीले जनाएको छ ।
यो मोटरसाइकलको फ्रन्टमा इर्भटेड र रियरमा मोनेशक सस्पेन्सन दिइएको छ । यसको दुवै ह्वीलमा डिस्क ब्रेक उपलब्ध छ । कम्पनीले यसमा सीबीएस सुरक्षा फिचर दिएको छ ।

