काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपालमै सवारी साधन एसेम्बल यूनिट लगाउन आग्रह गरेका छन् ।
मौद्रिक नीतिमा अटोमोवाइल क्षेत्रमा जाने कर्जा केही खुकुलो गर्न मागगर्दै गभर्नर भेट्न पुगेका नाडा अटोमोवाइल एसोशिएसन अफ नेकाका पदाधिकारीसँग अधिकारीले नेपालमै गाडी एसेम्बल गर्न अनुरोध गरेका हुन् ।
नेपालमा नै गाडी एसेम्बल गर्न के कस्ता सहयोग चाहिन्छ, त्यो गर्न आफुहरु तयार रहेको र व्यवसायीले पनि अब त्यो बाटो लिनु पर्छ भनेर गभर्नरले भनेको सहभागीको भनाई छ ।
नाडाका अध्यक्ष कृष्णप्रसाद दुलाल, उपाध्यक्ष करण चौधरी, आकाश गोल्छा, सचिब अनुप बराल र कोषध्यक्ष सुरेशकुमार उप्रेती नेपाल राष्ट्र बैंक गएका थिए ।
नाडा प्रतिनिधि मण्डलले निजी प्रयोजनका सवारीसाधनमा प्रवाह हुने कर्जा सीमा ५० प्रतिशतसम्म मात्र हुने व्यवस्थालाई पुर्न विचार गरी कर्जाको सीमा ९० प्रतिशत बनाउन माग गरेको थियो । यो व्यवस्था भएको खण्डमा ओरालो लागेको सवारी साधनहरुको पैठारीमा सुधार आउने, सरकारको राजस्व पाउने र देशको अर्थतन्त्र थप चलायमान हुने नाडाको सुझाव थियो ।
साथै, छलफलमा नेपाल राष्ट्र बैंकले सवारीसाधन कर्जाको सम्बन्धमा कर योग्य आयको कूल मासिक आम्दानीको ५० प्रतिशत मात्र किस्ता तिर्न सकिने अवस्थामा मात्रै ऋण दिनु पर्ने बर्तमान व्यवस्था खारेज गर्न माग गरेको थियो ।

