मूल्य, डिजाइन र ब्राण्डको प्रतिस्पर्धामा ‘एनएस २०० र एमटी १५’

काठमाडौं । नेपालमा दुई पाङ्ग्रे सवारीसाधनको विक्री वार्षिक ३ लाख यूनिट माथि पुगेको छ । अहिले स्कुटरको बजार हिस्सा तिब्र गतिमा बढिरहेको छ भने मोटरसाइकलको बजार हिस्सा क्रमिक रुपमा बढ्दै गएको देखिन्छ ।

विभिन्न कम्पनीले १ लाख ६० हजारदेखि करिब १ करोड मूल्य पर्ने मोटरसाइकल नेपाली बजारमा उपलब्ध गराएका छन् । यूवाहरुलाई आकर्षित गर्न कम्पनीहरुले नयाँ नयाँ मोडल ल्याउने गरेको भएपनि बजारमा चल्तीका पुराना मोडलको वर्चश्व रहेको देख्न सकिन्छ ।

विगत १० वर्षदेखि निरन्तर बजारमा आफ्नो सफल उपस्थिति बनाउन सफल बजाज पल्सर एनएस २०० धेरै यूवाको रोजाइको मोटरसाइकल बन्न सफल भएको छ । वार्षिक १५ देखि २० हजार यूनिट एनएस २०० अहिले नेपालमा विक्री हुने गरेको छ । विशेषत २०० सीसी सेग्मेन्टमा सर्वाधिक पावरफुल इन्जिन रहेको कारण यसलाई धेरै यूवाले मनपराएको देखिन्छ ।

यामाहा पनि नेपालमा निकै सफल ब्राण्ड हो । जापानी कम्पनी यामाहले नेपालमा सुरुदेखि नै राम्रो प्रशंसा पाउँदै आएको छ । कम्पनीले अन्तर्राष्ट्रिय बजारमा विक्री गर्दै आएको एमटी सिरिजबाट प्रभावित भएर ल्याएको एमटी १५ निकै मोर्डन डिजाइनको लागि परिचित रहेको छ ।

मूल्य

यामाहाले एमटी १५ को बीएस ६ भर्सन विक्री सुरु गरिसकेको छ । एमएडब्लू इन्टरप्राइजेजले यसको मूल्य ४ लाख ५९ हजार ९०० रुपैयाँ तोकेर विक्री गर्दै आएको छ ।

बजाजले आफ्नो चर्चित पल्सर एनएस २०० भने बीएस फोर इन्जिनमा उपलब्ध गराउँदै आएको छ । कम्पनीले यसलाई विभिन्न ३ भेरियन्टमा उपलब्ध गराएको छ । हंशराज हुलास चन्द एण्ड कम्पनी प्रालिले विक्री गर्ने पल्सर एनएस २०० एफआई/एबीएसको मूल्य ३ लाख ९५ हजार ९०० रुपैयाँ रहेको छ ।

इन्जिन

बजाजले एनएसमा १९९.५ सीसी क्षमताको डिटीएसआई, फोर भल्भ, लिक्वीड कुल्ड, एफआई इन्जिन दिएको छ । उक्त इन्जिनले अधिकतम ९७५० आरपीएममा २३.५ पीएस पावर र ८००० हजार आरपीएममा १८.३ एनएम टर्क प्रदान गर्छ ।

याहामाले एमटी १५ मा १५५ सीसी क्षमताको, फोर भल्भ, एफआई इन्जिन दिएको छ । उक्त इन्जिनले अधिकतम १० हजार आरपीएममा १८.५ पीएस पावर र ८५०० आरपीएममा १३.९ एनएम टर्क प्रदान गर्छ ।

यी दुबै मोटरसाइकलमा समान ६ स्पीड गियरबक्स दिइएको छ ।

ब्रेक र सस्पेन्सन

यामाहाले एमटी १५ मा अगाडि २८२ एमएम र पछाडि २२० एमएमको डिस्क ब्रेक दिएको छ । साथमा सिंगल च्यानल एबीएसले मोटरसाइकललाई थप सुरक्षित बनाएको छ । एमटी १५ को अगाडि टेलिस्कोपीक र पछाडि लिङ टाइप मोनोक्रस सस्पेन्स दिइएको छ ।

बजाजले एनएसमा एमटी १५ को भन्दा ठूलो साइजको डिस्क ब्रेक दिएको छ । एनएसको अगाडि ३०० एमएम र पछाडि २३० एमएमको डिस्क ब्रेकको साथमा सिंगल च्यानल एबीएस उपलब्ध छ । बजाजले एनएस २०० को अगाडि हाइड्रोलिक टेलिस्कोपीक फर्क र पछाडि निट्रोक्स मोनोशक दिएको छ ।

हेडलाइट

बजाजले एनएस २०० मा ट्वीन प्रोजेक्टर हेडल्याम्प दिएको छ भने यामाहा एमटी १५ मा मास्क डिजाइनको एलइडी हेडल्याम्प दिएको छ ।

निस्कर्ष

डिजाइन, प्रविधि र पावरको प्रतिस्पर्धामा यी दुबै मोटरसाइकल अब्बल छन् । यद्यपि विक्री संख्यामा बजाज पल्सर एनएस २०० निकै अगाडि रहेको छ । दुबै मोटरसाइकलको विक्रीको लागि चाहिने शोरुम, सर्भिस सेन्टर र स्पेयर पार्टस्को व्यवस्था निकै राम्रो छ ।

पावरमा ५ पीएस बढी रहेको कारण बजाज एनएसलाई धेरै फाइदा भएको छ भने आधुनिक र यूनिक डिजाइन एमटी १५ को सबल पक्ष हो ।


Back_to_top