टीभीएस मोटर कम्पनीले भारतीय बजारमा एनटर्क रेस एडिशनको बिक्री सुरु गरेको छ । भारतमा बीएस-६ अनिवार्य लागु हुने मिति नजिक आउँदै गर्दा कम्पनीले बिएस-६ एनटर्कको बिक्री सुरु गरेको हो ।
कम्पनीले एनटर्क रेस एडिशन बीएस-६ को मूल्य ७२ हजार ४५५ भारतीय रुपैयाँ एक्स शोरुम तोकेको छ । यसको मूल्य ७ हजार ५३० भारुले बृद्धि भएको हो ।
कम्पनीले यो स्कुटरमा कुनै नयाँ परिर्वतन भने गरेको छैन । बीएस ४ स्कुटरलाई बीएस-६ मापदण्ड अनुसार सार्वजनिक गरेको हो ।
यो स्कुटरमा टीभीएस स्मार्ट कनेक्टको सहायतामा नेभिगेसन, अन्तिम समयमा पार्किङ गरेको स्थान, कल तथा एसएमएस नोटीफिकेसन जस्ता फिचर रहेको छ । यसका अलावा यसमा राइड स्टाटीस्टीक्स, ल्याप टाइमर, ०-६० एशेलेरेसन टाइमर तथा मोड परिवर्तन गर्न सकिने छ ।
यो स्कुटरमा १२४.८ सीसी, ३ भल्भ, एयरकुल्ड, एफआई इन्जिन रहेको छ । यो इन्जिनले ७००० आरपीएममा ९.१ बीएच पावर तथा ५५०० आरपीएममा १०.५ एनएम टर्क जेनेरेट गर्छ । अपडेटेड स्कुटरमा ०.८ लिटर इन्धन क्षमता थप गरिएको छ । बीएस६ एनटर्कमा ५.८ लिटर इन्धन राख्न सकिने भएको छ ।
सस्पेन्सलाई कम्पनीले बीएस-४ बाट नै निरन्तरता दिएको छ । फ्रन्टमा टेलिस्कोपिक तथा रियरमा ग्यास चार्जड मोनोसक सस्पेन्सन रहेको छ । यो स्कुटरको फ्रन्टमा २२० एमएमको डिस्क ब्रेक रहेको छ भने रियरमा १३० एमएम ड्रम ब्रेक रहेको छ ।
यसमा फुल डिजिटल एलसीडी कन्सोल, फुल एलइडी हेडलाइट तथा टेल लाइट जस्ता फिचर रहेको छ ।
नेपाली बजारमा समेत निकै लोकप्रिय रहेको एनटर्क १२५ छिट्टै नेपाली बजारमा भित्रने अनुमान गरिएको छ । नेपाली बजारमा हाल एनटर्कको तिन भेरियन्टमा बिक्री भइरहेको छ । ड्रम भेरियन्टको मूल्य २ लाख १४ हजार ९०० रुपैयाँ, डिस्क भेरियन्टको २ लाख ३२ हजार ९०० रुपैयाँ र रेस एडिसनको मूल्य २ लाख ४६ हजार ९०० रुपैयाँ रहेको छ । रेस एडिसनको बीएस-६ भर्सन नेपाली बजारमा आउँदा २१ हजार मूल्य बढ्ने अनुमान गर्न सकिन्छ ।
यो एनटर्क १२५ स्कुुटरले होन्डा ग्राजिया, अप्रिलिया स्ट्रोम १२५ जस्ता स्कुटरसँग प्रतिस्पर्धा गरिरहेको छ ।


