रेट्रो डिजाइनको इलेक्ट्रीक मोटरसाइकल भदौबाट नेपालमा, रेन्ज २०० किमि

काठमाडौं । फोर्ड, प्यूजो, सिट्रोन जस्ता ब्राण्डमा लगानी गर्दै आएको गोल्छा समूह अन्तर्गतको ई-मोटो कम्पनीले विद्युतीय दुई पाङ्ग्रे सवारीसाधनको विक्रीमा हात हालेको छ ।

आगामी महिनासम्म नेपालमा विद्युतीय मोटरसाइकल सार्वजनिक गर्नेगरी ई मोटोले भारतमा उत्पादन हुने ओवेन ब्राण्डको पावरफुल र स्पोर्टी मोटरसाइकल नेपाल ल्याउन लागेको हो ।

‘हामीले नाडा अटो शो २०२२ मा ओवेन ब्राण्ड लन्च गर्ने तयारी गरेका थियौं । अटो शो रोकिएको छ । तर, ब्राण्ड भने त्यही समयमा लन्च गर्ने तयारी गरेका छौं’, गोल्छा समूहका कार्यकारी निर्देशक आकाश गोल्छाले भने ।

भारतको बैंलोरमा प्लान्ट रहेको ओवेनले नियो रेट्रो डिजाइनमा ‘रोर’ नामक इलेक्ट्रीक मोटरसाइकलको विक्री सुरु गरेको छ भने चाँडै स्कुटर लगायतका मोडल ल्याउँदैछ ।

भारतमा १ लाख रुपैयाँ (आइसी) मूल्य तोकेर विक्री भइरहेको ‘रोर’ मोटरसाइकल सुरुमा नेपाल आउने छ । यसको मूल्य कति कायम हुन्छ भन्ने विषयमा कुनै जानकारी प्राप्त भएको छैन ।

कम्पनीले भारतमा सार्वजनिक गरेको स्पेक अनुसार रोर मोटरसाइकललाई एक पटकको फुल चार्जमा २ सय किलोमिटरसम्म गुडाउन सकिन्छ । कम्पनीले यसमा ४.४ किलोवाट आवर क्षमताको लिथियम आयोन एनएमसी ब्याट्री दिएको छ । यसमा दिइएको एलएफपी ब्याट्री निकै सुरक्षीत मानिन्छ । रोरमा ईको, सिटी र ह्यावको ड्राइभिङ मोड उपलब्ध रहेको छ ।


Back_to_top