काठमाडाैं । भारतमा विद्युतीय कारको बिक्रीमा केही सुधारको संकेतहरु देखिएका छन् । गाडी उत्पादकहरुले ईभीलाई प्राथमिकतामा राख्न थालेसँगै बिक्रीमा पनि सुधार देखिएको हो ।
भारतमा एमजीले विन्डसर ईभीको बिक्री थालेसँगै ईभी बजारमा थप हलचल पैदा भएको हो । अघिल्लो महिनाबाट बजारमा आएको एमजी विन्डसरले पहिलो महिनामै ३ हजार ११६ युुनिट बिक्री गरेर अन्य उत्पादकलाई चुनौती प्रस्तुत गरेको हो ।
एमजीले नै भारतमा अक्टोबर महिनामा कोमेट ईभी १ हजार १५१ युनिट बिक्री गर्दा जेडएस ईभी ६११ युनिट बिक्री गरेको हो । समग्रमा जिन्दाल ग्रुपको इन्ट्रीपछि एमजीले अक्टोबर महिनामा ४ हजार ८७८ युनिट विद्युतीय कार बिक्री गरेको हो ।
भारतकै सबैभन्दा ठूलो ईभी निर्माता टाटाले अक्टोबरमा नेक्सन ईभी १ हजार ५९३ युनिट बिक्री गरेको छ । त्यस्तै नयाँ कम्प्याक्ट एसयूभी कर्भ ईभी १ हजार ५४२ युनिट बिक्री गर्दा टियागो र टिगोर १ हजार १७ युनिट बिक्री गर्न सफल भएको हो ।
टाटाको माइक्रो एसयूभी पन्च ईभी पनि अक्टोबरमा ९१५ युनिट बिक्री गरेको छ । समग्रमा टाटाले अक्टोबर महिनामा ५ हजार ६७ युनिट विद्युतीय कार भारतमा बिक्री गरेको हो ।
अर्को अटोमोवाइल कम्पनी महिन्द्राले पनि अक्टुबरमा १ हजार युनिट एक्सयूभी ४०० ईभी बिक्री गरेको छ । त्यस्तै युरोपियन उत्पादक सिट्रोनले ईसीथ्री ८९ युनिट बिक्री गर्दा हुन्डाईले आयोनिक-५ को बिक्री ३२ युनिट गरेको छ । कियाले पनि ईभी-६ भारतमा ५० युनिट बिक्री गरेको छ ।

