काठमाडौं । नेपाली बजारमा आउने पक्का भैसकेको इलेक्ट्रीक स्कुटर ओकिनवाले भारतीय इलेक्ट्रीक स्कुटरमा नयाँ रेकर्ड बनाएको छ । भारतीय कम्पनी ओकिनवाको प्रेज स्कुटरले १८ हजार ३८० फिटको उचाइमा यात्रा गरेर नयाँ रेकर्ड बनाएको हो ।
फर्चुना अटोमोवाईलले नेपाली बजारमा ल्याउन लागेको यो इलेक्ट्रीक स्कुटरले १० दिनमा १ हजार ३५० किलोमिटर उकालो बाटोको यात्रा तय गरेको भारतीय मिडिया दैनिक भाष्करले समाचारमा उल्लेख गरेको छ । उक्त स्कुटरले भारतकै सबैभन्दा अग्लो उचाइमा रहेको सडक खारदुंग ला दर्रा पार गरेको थियो ।
कम्पनीका अनुसार प्रेज स्कुटरमा १००० हजार वाटको वाटरप्रुफ बिएलडीसी मोटरको प्रयोग गरिएको छ, यसको पिक पावर २५०० वाटसम्म रहेको छ । पावरकै कारण स्कुटरले कठिन बाटोसमेत सहज पार गरेको कम्पनीले जारी गरेको मिडिया बिज्ञप्तीमा उल्लेख छ । राइडिङको समयमा स्कुटरमा २ वटा ब्याट्रीको प्रयोग गरिएको र एउटा सकिएपछि अर्को ब्याट्री जोडर यात्रा गरिएको थियो ।
ओकिनवाले प्रेजको यात्रा हिमालय गुरुग्रामबाट सुरु गरेर अंवाला, जालन्धर, पठानकोट, बनिहाल, गाँडेरवाल, सोनमर्ग, श्रीनगर, भीमबाट, लामायुरु हुँदै लेहसम्म पुगेको थियो ।
ब्याट्री
यस इलेक्ट्रीक स्कुटरमा ७५ वाटको एउटा र ४५ वाटको अर्को लिथियम आयन ब्याट्रीको प्रयोग गरिएको छ । टर्बो चार्जरको प्रयोगले यस ब्याट्रीलाई २ घन्टामा फुलचार्ज गर्छ । एक पटक फुलचार्ज गर्दा ३ युनिट विद्युत् खर्च हुने यो स्कुटरले फुलचार्जमा १७५ देखि २०० किलोमिटर माइलेज दिने कम्पनीले जनाएको छ । स्कुटरमा दिइएको टर्बो स्विचको सहायताले स्कुटरको टप स्पिड ७५ किलो मिटर प्रतिघन्टा पुग्ने छ ।
स्कुटरमा दिइएको चाबीसमेत कारको जस्तो रहेको छ । जसको प्रयोगले स्कुटर लक अनलक गर्न सकिने छ भने लाइटसमेत बन्द गर्न सकिन्छ ।
ड्राइभिङ मोड
यो स्कुटरमा तीन वटा ड्राइभिङ मोड दिइएको छ । जसमा इको, स्पोर्टी र टर्बो रहेको छ । ईको मोडमा टप स्पिड ३५ किलोमिटर, स्पोर्टी मोडमा ६५ किलोमिटर र टर्बो मोडमा ७५ किलोमिटर रहेको छ ।