ओकिनवा प्रेज-प्रो सार्वजनिक, २ घन्टामा फुलचार्ज, रेन्ज कति ?

काठमाडौं । दुईपांग्रे इलेक्ट्रीक सवारीसाधन निर्माता कम्पनी ओकिनवाले नयाँ स्कुटर सार्वजनिक गरेको छ । कम्पनीले ओकिनवा प्रेज-प्रो सार्वजनिक गरेको हो ।

कम्पनीले भारतीय बजारमा सार्वजनिक गरेको नयाँ स्कुटरको मूल्य ७१ हजार ९९० भारतीय रुपैयाँ तोकेको छ ।

ओकिनवाले यो स्कुटरमा २ किलोवाट आवरको लिथियम आयन ब्याट्रीको प्रयोग गरेको छ भने १ किलोवाट क्षमताको इलेक्ट्रीक मोटर दिएको छ । यो स्कुटरमा टर्बोसहित तीन मोडल उपलब्ध रहेको छ ।

कम्पनीका अनुसार ओकिनवा प्रेज-प्रोमा भएको मोटर वाटरप्रुफ हो । ओकिनवा प्रेज-प्रो स्कुटर टर्बो मोडमा चलाउँदा ७० किलोमिटर प्रतिघन्टाको रफ्तारमा कुद्ने क्षमता राख्दछ ।

ओकिनाव प्रेज-प्रोमा भएको ब्याट्रीलाई फास्ट चार्जरमा चार्ज दुई घन्टामा फुलचार्ज गर्न सकिने कम्पनीले जनाएको छ । एक पटकको फुलचार्जमा यो स्कुटरलाई ११० किलोमिटरसम्म गुडाउन सकिने कम्पनीको दाबी छ ।

प्रेज-प्रोमा दुवैतर्फ डिस्क ब्रेक, मोबाइल चार्जिङ यूएसबी पोर्ट, एन्टि थेफ्ट अर्लाम, सेन्ट्रल लकिङ, कि–लेस स्र्टाट, फाइन्ड माइ स्कुटर जस्ता फिचर उपलब्ध रहेको छ ।

ओकिनवा इलेक्ट्रीक नेपाली बजारमा आयात हुनेमा पहिलो नम्बरमा रहेको स्कुटरमा पर्छ । भारतीय बजारमा विक्री सुरू भएको केही समयपछि यो स्कुटर नेपाल भित्र्ने सम्भावना रहेको छ ।


Back_to_top