ओमोडा र बीवाइडीमा एउटै ब्याट्री, कस्तो रहला प्रतिस्पर्धा

काठमाडौं । बीवाइडीको सहायक कम्पनी फिन ड्रिम्सले उत्पादन गरेको ब्लेड ब्याट्री प्रयोग भएको गाडी नेपाली बजारमा साइमेक्स इंकले मात्रै बिक्री गर्दै आएको थियो । अहिलेसम्म बीवाइडीका उत्पादनमा मात्रै रहेको ब्लेड ब्याट्री अब ओमोडा ई-५ मा पनि पाउन सकिने भएको हो ।

लिथियम आइरन फस्फेट ब्याट्री ब्लेड टेक्नोलोजीको प्रयोग गरेर तयार पारिएको कारण यसलाई विश्वभर सुरक्षित मानिन्छ । ब्याट्री टेक्नोलोजीकै कारण बीवाइडीले अहिलेको सफलता हासिल गरेको मान्नेहरु पनि छन् ।

बीवाइडीले अहिले नेपालमा बिक्री गर्दै आएको डल्फीन, एटो-३ र सिल ईभीमा ब्लेड ब्याट्री प्रयोग भएको छ । ओमोडाले एउटा मात्रै मोडल ई-५ नेपाली बजारमा ल्याएको छ । कम्पनीले ल्याएको ई-५ ले बीवाइडी एटो-३ सँग सिधा प्रतिस्पर्धा गर्नेछ ।

एटो-३ को सुपेरियर भेरियन्टमा ६०.४८ किलोवाट आवर क्षमताको ब्लेड ब्याट्री पाउन सकिन्छ । ओमोडा ई-५ मा भने ६१ किलोवाट आवरको ब्याट्री उपलब्ध छ । यी दुबै मोडलको डब्लूएलटीपी रेन्जमा १० किलोमिटर मात्रै फरक पाउन सकिन्छ ।

एटो-३ ले सिंगल चार्जमा ४२० किलोमिटर रेन्ज दिने डब्लूएलटीपीले प्रमाणित गरेको छ । त्यस्तै ओमोडा ई-५ ले ४३० किलोमिटर रेन्ज दिने डब्लूएलटीपी टेष्टले देखाएको छ ।

पर्फमेन्समा आफुलाई प्रमाणित गरिसकेको ब्लेड ब्याट्री बीचमा प्रतिस्पर्धा हुने कुरै भएन । बीवाइडी र ओमोडा बीचमा भने पक्कै प्रतिस्पर्धा हुनेछ । यी दुईको प्रतिस्पर्धा कसरी अगाडि बढ्छ, त्यो चाँडै थाहा हुनेछ ।


Back_to_top