ईभी भ्यानमा सर्भिस चार्ज कति ? महंगो ल्यूवले उपभोक्ता चिन्तित

काठमाडौं । ईभी भ्यानको संचालन खर्च तुलनात्मक रुपमा निकै सस्तो मानिन्छ । प्रतिलिटर १५० रुपैयाँको डिजेलको तुलनामा प्रति यूनिट ८ रुपैयाँको विद्युत सस्तो हुनेनै भयो ।

कम संचालन खर्च, हाइवेमा बनेका चार्जिङ स्टेशन र चलाउन सहज भएकाले धेरै स्वरोजगार बन्न चाहनेहरुले ईभी भ्यान किनेर सार्वजनिक यातायातको रुपमा चलाई रहेका छन् ।

नेपाली सडकमा इलेक्ट्रीक भ्यानको संख्या बढेसँगै यसमा लाग्ने मेन्टीनेन्स खर्चको अहिले चर्चा चल्न थालेको छ । इलेक्ट्रीक सवारीमा धेरै सर्भिसिङ गर्नु नपर्ने मान्यता रहिआएको भएपनि कमर्शियल भ्यानलाई रेगुलर सर्भिस गर्न जरुरी रहेको ब्यवसायी बताउँछन् ।

रुटमा चल्ने माइक्रो भ्यानहरु दैनिक ४/५ सय किलोमिटर चल्ने भएकोले प्रत्येक २५/३० दिनमा सर्भिस सेन्टरमा लानु पर्छ । प्रत्येक महिना सर्भिस गर्दा राम्रै खर्च आउने गरेको चालकहरुको भनाइ छ ।

‘अहिले भ्यान बेच्नेहरु सबै कम्पनीको उस्तै खर्च तोकेका छन् । एक पटक सर्भिस सेन्टर जाँदा १०/१२ हजार त खर्च आइहाल्छ’, हेटौडामा भेटिएका चालक राम श्रेष्ठले बताए ।

हामीले सर्भिसिङ गर्दा कुन र के–केमा कति खर्च आउँछ भन्ने विषय नेपालमा चल्ने प्रमुख ब्राण्डका इलेक्ट्रीक भ्यानका आधिकारीक बिक्रेतासँग बुझेर लाग्ने खर्चको विषयमा जानकारी दिने प्रयास गरेका छौं ।

केवाइसी भ्यान

चौधरी ग्रुप अन्तर्गतको सिजी मोटर्सले बिक्री गर्ने केवाइसी भ्यान प्रत्येक १० हजार किलोमिटर गुडेपछि सर्भिसिङ गर्नु पर्छ । कम्पनीका सर्भिस हेड सागर खड्काका अनुसार पहिलो १० हजार किलोमिटर गुडेपछि गियर आयल परिवर्तन गर्नु पर्ने हुन्छ । त्यसको खर्च २ हजार ५ सय रुपैयाँ लाग्छ ।

त्यसपछि अर्को १० हजार किलोमिटर ( कुल २० हजार किलोमिटर) गुडेपछि भने गियर आयल, ब्रेक आयल र कुलायन्ट चेन्ज गर्नु पर्छ । यी सबैको खर्च करिब ८ हजार रुपैयाँ पर्ने सर्भिस हेड खड्काको भनाइ छ । यो प्रक्रिया सधैं चल्छ ।

सर्भिसिङ बाहेक अन्य कुनै पार्टस् फेर्नु परेमा सम्बन्धीत सामानको थप मूल्य तिर्नुपर्छ । सिजी मोटर्सले केवाइसी भ्यानमा ५ पटक फ्रि सर्भिसिङ दिएको छ ।

एसआरएम भ्यान

पुजा कन्ट्रक्सनले बिक्री गर्ने एसआरएम भ्यान पनि केवाइसी जस्तै हो । कम्पनीले नाडा नाडा अटो शो २०२३ बाट बिक्री सुरु गरेको एसआरएम ब्राण्डको भ्यान पनि १० हजार किलोमिटरमा नै सर्भिसिङ गर्नु पर्ने सर्भिस हेड दिनेश दाहालले जानकारी दिए ।

‘एसआरएमको माइक्रो भ्यान १० हजार किलोमिटर गुडेपछि गियर आयल र कुलाइन्ट परिवर्तन गर्नु पर्छ । यसको मूल्य लुब्रिकेन्टको ब्राण्ड र क्वालीटी अनुसार फरक हुन्छ’ दाहालले भने ।

उनका अनुसार पुजा कन्ट्रक्सनले भिडोलको लुब्रिकेन्ट प्रयोग गरिरहेकोले पहिलो सभिर्सिङमा ५ देखि ६ हजार खर्च आउँछ । दास्रो सर्भिसिङ अर्को १० हजार किलोमिटर गुडेपछि गर्ने हो । जम्मा २० हजार किलोमिटरमा हुने सर्भिसिङमा पनि कुलायन्ट र गियर आयल फेर्नुपर्छ । त्यतिबेला ब्रेक आयल चेक गरेर कम भएको खण्डमा थप्ने काम हुन्छ । त्यसको अलगै खर्च आउँछ । ब्रेक आयल ४० हजार किलोमिटर गुडेपछि भने परिवर्तन गर्नु पर्छ ।

कम्पनीले ३ वटा सर्भिसिङ निःशुल्क दिएको छ । त्यसपछि सर्भिस चार्जको रुपमा १ हजारदेखि १५ सयसम्म थप शुल्क लाग्छ ।

फोटोनको भ्यान

कमर्शियल रुटमा चलिरहेको फोटोनका इलेक्ट्रीक भ्यानको पहिलो सर्भिसिङ ५ हजार किलोमिटर गुडेपछि गर्नु पर्ने कम्पनीले बताएको छ । उक्त समयमा गियर आयल र कुलायन्ट परिवर्तन हुन्छ । एक पटकमा २ लिटर गियर आयल र कुलायन्ट चेन्ज गर्दा ९ हजार हाराहारीमा खर्च आउँछ ।

त्यसपछि दोस्रो सर्भिसिङ भने २५ हजार किलोमिटर पुरा भएपछि गर्नु पर्छ । दोस्रोमा गियर आयल, कुलायन्ट र ब्रेक आयल परिवर्तन गरिने हो । जसको कुल खर्च करिब १२ हजार आउनेछ । कम्पनीका अनुसार सर्भिसिङको सेडुल उत्पादकले पठाए बमोजिम गरिएको हो ।

फोटोनको आधिकारीक वितरक एमएडब्लु बृद्धिले नेपालको बाटो, गाडी चल्ने स्पीड र यहाँको वातावरणको आधारमा नयाँ सर्भिसिङ सेड्यूल बनाइरहेको जनाएको छ ।

 


Back_to_top