साथी, बीपी हाइवेमा…

कुदाउन बीपी हाइवेको रोडमा भन्थिस,
बनाउन एउटा ‘राइडर ग्रुप’
तँ, म, ऊ, त्यो ६-७ जनाको भन्थिस,
ठूलो आवाज , टप स्पीडका साथ,
कमिलाको ताँती झैँ तर गति असीमित भन्थिस,

प्रत्येक घुम्तीहरूमा बाइक सुताइ सुताइ
सीधा बाटोमा अगाडिको पाङ्ग्रा उठाइ,
जाँउन एक दिन बीपी हाइवेमा एउटा ‘राइडर ग्रुप’ बनाई भन्थिस,

न स्पीड लिमिटको बोर्ड हेर्थिस,
न आउँदै गरेको दोबाटो हेर्थिस,
कार, बस, ट्रकको कुना कुना बाट ओभरटेक गर्दै
नागबेली चालमा हिँड्थिस,
नचला न यसरी,
निस्किएर आएको घर नपुग्लास,
भनी सम्झाँउदा ‘वी डाइ लाइक अ रियल म्यान’भन्थिस,

तेरा कुरा भगवानको कानमा पुगेर होला,
तलाईँ पनि उहीँ बोलाए,
हामीले साथी गुमाँयौं
परिवारले छोरा गुमाए
तँ आफू सकिएर सिकाएर गइस

ओभर स्पिड ५० छ भने
४५ मा कुदा भनेर सिकाएर गइस,
हरेक घुम्तीमा आमा घरमा कुरेर बसेकी छन् भन्ने कुरा याद गराएर गइस,

आफ्नै गल्तीले आफू पनि न मरौँ
र अरूलाई पनि नमारौँ भन्ने कुरा सिकाए गइस,
आज यहाँ तेरै कमी छ,
ओभर स्पीड र जथाभावी कुदाउन हुन्न भन्ने कुरा सबैलाई सिकाएर गइस ।

सापकोटा छोटा कथा (सर्ट स्टोरी) लेखक हुन् ।


Back_to_top