१९ सिटे इलेक्ट्रीक माइक्रोबसको बुकिङ खुला, ४ लाख किमी वारेन्टी

काठमाडौं । चौधरी ग्रुप अन्तर्गतको सिजी मोटर्सले किङलोङ ब्राण्डका १९ सिटे माइक्रोबसको बुकिङ खुल्ला गरेको छ । कम्पनीले पहिलो पटक ७ वर्ष वा ४ लाख किलोमिटर वारेन्टीसहित १९ सिट क्षमताका इलेक्ट्रीक माइक्रोबसको बुकिङ खुला गरेको हो ।

यसअघि सिजी मोटर्सले किङलोङ ब्राण्डका १४ सिट क्षमताका हाइरुफ माइक्रो भ्यान बिक्री गर्दै आएको थियो । अबभने किङलोङकै १९ सिटे माइक्रोबस बिक्री गर्ने भएको हो ।

कम्पनीले घोषणा गरेको यो वारेन्टी इलेक्ट्रीक सार्वजनिक यातायातमा दिइएको सबैभन्दा धेरै वारेन्टी हो । विश्वको सबैभन्दा ठूलो हाइ भोल्टेज ब्याट्री उत्पादक कम्पनी सीएटीएलको ७७.२८ किलोवाट आवरको ब्याट्री प्याक रहेको उक्त भ्यानले सिंगल चार्जमा ३०० किलोमिटर रेन्ज दिने एनइडीसीले प्रमाणित गरेको छ ।

किङलोङको १९ सिटे माइक्रोबसमा १० प्रकारको रिजेन मोड पाउन सकिन्छ । यसको मोटर पावर ९० किलोवाट रहेको छ । जुन अहिले गुडी रहेका कुनै पनि माइक्रो बसभन्दा पावरफुल हो ।

किङलोङ भ्यानको लम्बाई ५९९८ एमएम, चौडाई १८८५ एमएम, उचाई २२८५ एमएम रहेको छ । यसमा ३७२० एमएम लामो ह्वीलवेस पाउन सकिन्छ । यसमा २२० एमएम अग्लो ग्राउण्ड क्लियरेन्स छ ।

एयर कन्डिसन युक्त क्याविन रहेको किङलङ भ्यानमा सुरक्षाका लागि एबीएस, रिभर्स भ्यू क्यामरा, आवाजसहितको रिभर्स पार्किङ सेन्सर, सेन्ट्रल लकिङ सिस्टम जस्ता फिचर रहेको छ ।

सिजी मोटर्सले यसको मूल्य ७८ लाख रुपैयाँ निर्धारण गरेर बिक्री सुरु गर्न लागेको हो ।


Back_to_top