काठमाडौं । चिनियाँ ब्राण्ड सेरेसले भदौमा नेपाली बजारमा प्रवेश गराएको इलेक्ट्रीक एसयूभी सेरेस-थ्रीले सुरूआती दिनबाटै चर्चा पायो । चर्चा पाउनुको पहिलो कारण ग्राउन्ड क्लियरेन्स थियो ।
कम्पनीले नाडा अटो शो २०२३ मा यसको मूल्य घोषणा गरेको थियो । मूल्य घोषणा भएको दुई दिन भित्रै गाडीको बुकिङ कम्पनीको अपेक्षाभन्दा धेरै भयो । त्यसैले अटो शोको तेस्रो दिन नै कम्पनीले मूल्य बढायो ।
किन नाम नै नसुनेको ब्राण्डको विद्युतीय गाडीमा उपभोक्ताको आकर्षण बढ्यो भन्ने विषयले हामीलाई पनि कौतुहलता जगायो । त्यसैले केही महिना अघि हामीले काठमाडौंको आसपासका क्षेत्रमा यसलाई चलाएर हेरेका थियौं । उक्त ड्राइभपछि हाम्रो निष्कर्ष थियो, ठूलो साइज र उच्च ग्राउन्ड क्लियरेन्सकै कारण यसलाई किन्न चाहने धेरै थिए ।
समयक्रमसँगै छोटो अवधिमा नयाँ ब्राण्डले २०० यूनिट सेरेस थ्री नेपाल ल्याएसँगै हामीले यसको लामो ड्राइभ गर्ने योजना बनायौं । त्यही अनुसार काठमाडौंदेखि नेपालगञ्जसम्मको ड्राइभ गर्ने निधो भयो । हामीले झण्डै ६०० किलोमिटर लामो यात्राका विषयमा यहाँ अनुभव सेयर गर्दैछौं ।
यात्रा गरेको बाटो
विद्युतीय कारको लागि कस्तो किसिमको बाटोमा चलाइयो भन्ने कुरा निकै महत्वपूर्ण हुन्छ । हामीले काठमाडौंको नक्साल, टोखादेखि नुवाकोटको छहरे हुँदै धादिङको गल्छी निस्केका थियौं ।
धादिङको गल्छीदेखि मुग्लिनसम्मको बाटो कस्तो छ तपाईंहरू जानकार नै हुनुहुन्छ । अझ नारायणगढ पारी तरेपछि परासीसम्मको बाटो मनाङ र मुस्ताङको भन्दा कम छैन । त्यसपछि भैरहवादेखि नेपालगंजसम्मको बाटो नेपालको सडक अवस्था हेर्दा राम्रो मान्नुपर्छ ।
रेन्ज र चार्जिङ
विद्युतीय गाडी चढ्नेको लागि सबैभन्दा बढी चासो भएको मध्ये एक विषय रेन्ज र चार्ज गर्न लाग्ने अवधि हो । हामीले कम्पनीको दाबीभन्दा हाम्रो अनुभवलाई यहाँ उल्लेख गरेका छौं ।
यसको चार्जिङ स्पीड राम्रो छ । यसलाई नेपाल विद्युत प्राधिकरणले बनाएको डीसी फास्ट चार्जरमा चार्ज गर्दा ५३ किलोवाटको स्पीडसम्म लिएको हामीले पायौं । प्राधिकरणको चार्जर ६० किलोवाट क्षमताका हुन् । त्यसमा ५३ किलोवाटसम्म सपोर्ट गर्नुलाई निकै राम्रो मान्न सकिन्छ ।
यसलाई हामीले ३० किलोवाटको चार्जरले पनि चार्ज गरेका थियौं । ३० किलोवाटको चार्जरले गर्दा २९ किलोवाटसम्म चार्ज लिएको थियो । हामीले एसी चार्जरको प्रयोगबाट भने चार्ज गर्न पाएनौं ।
रेन्जको कुरा गर्दा पहाडी भागमा लगभग २८० देखि ३०० किलोमिटरको रेन्ज दिने हाम्रो अनुभवले देखायो । तर, तराईको भू-भागमा एसीको प्रयोग नगरी चलाउने हो भने ३५० किलोमिटरसम्म रेन्ज पाउन सकिन्छ ।
हामीले समग्रमा ५८० किलोमिटर चलाउँदा १८० प्रतिशत चार्ज खर्च गरेका थियौं । नेपालगञ्जसम्मको यात्रामा हामीले मुग्लिन र भैरहवामा चार्ज गर्यौं ।
यसमा ५२ किलोवाट आवरको ब्याट्री छ । प्रति १०० किलोमिटर यात्रा गर्न ब्याट्री खपत १६ किलोवाट आवरभन्दा बढी नै हुने हाम्रो टेष्ट ड्राइभमा देखिएको थियो ।
ड्राइभिङ कर्म्फट
सेरेस-३ को ड्राइभिङ पोजिसन चालकले आफ्नो हाइट अनुसार सहजै मिलाउन सक्छन् । टिल्ट र टेलिस्कोपीक स्टेरिङ एड्जस्टमेन्ट भएको कारण जुन सुकै साइजको चालकलाई पनि सहज हुनेगरी यसलाई मिलाउन सकिन्छ ।
दोस्रो सिटको थाइ ग्रिप उत्कृष्ट छ । सँगै, बडीलाई पनि राम्रोसँग कभर गर्न सकिन्छ । ड्राइभिङ मोड र स्टेरिङ मोड पनि चालकलाई सहज बनाउने फिचर हुन् । यसको ड्यासबोर्डमा दिइएको इन्फोटेन्टमेन्ट सिस्टम र स्टेरिङसँगै दिइएको इन्फोटेन्टमेन्ट सिस्टम औषत डिजाइनमा पाउन सकिन्छ । यद्यपि, सबै सूचना चालकले सहजै पाउन सक्छ ।
रिजेनेरेटीभ ब्रेकिङ सिस्टमलाई लो, मिडियम र हाई मध्ये कुनै एक छनोट गर्न सकिन्छ । यदि, लोमा राखेर चलाउनु भयो भने रिजेनेरेशन राम्रो हुँदैन । १८ इन्चको ह्वील र १९० एमएम अग्लो ग्राउन्ड क्लियरेन्स भएको कारण गाडी निकै ठूलो अनुभव हुन्छ ।
पावर
अहिले बजारमा उपलब्ध ठूला सबै एसयूभीहरु ९९ किलोवाटको मोटरमा उपलब्ध छन् । यसमा पनि ९९ किलोवाटकै मोटर उपलब्ध छ । जुन पीएसमा हेर्नुभयो भने १३४ पीएस हो । यसको पीक टर्क भने ३०० एनएम रहेको छ ।
निष्कर्ष
बजारमा उपलब्ध एमजी जेडएस र बीवाइडी एटो-थ्री एड्भान्स मोडलसँग प्रतिस्पर्धा गरिरहेको सेरेस थ्री ब्याट्री साइज, मोटर पावरमा दुबैसँग बराबर छ । ग्राउन्ड क्लियरेन्समा पक्कै सेरेस थ्री अगाडि छ ।
एमजी र बीवाइडीले नेपालमा ७/८ वर्ष विताइसकेका छन् । उपभोक्ताले पनि धेरै प्रयोग गरेको कारण उनीहरुको आफ्नै किसिमका प्रयोगकर्ता भेटिन्छन् । जुन सेरेसको लागि कडा मिहिनेत गर्नु पर्ने हुन्छ ।
अतिरिक्त टायरको ब्यवस्था भएको कारण बाटोमा टायर बिग्रीएको खण्डमा पनि गाडी फस्ने अवस्था हुँदैन । तपाई पनि इलेक्ट्रीक एसयूभी किन्ने योजनामा हुनुहुन्छ भने एक पटक अवश्य टेष्ट ड्राइभ गर्नुहोला । हाम्रो अनुभवमा सेरेस थ्री हाइटेक इलेक्ट्रीक कार होइन तर, उपयोगी विद्युतीय एसयूभी भने पक्कै हो ।