काठमाडौं । सुजुकी मोटर कर्पोरेशनले स्काई ड्राइभ इंकको सहकार्यमा उड्ने कारको उत्पादन सुरु गरेको छ । सुजुकीको सिजुओका प्रिफेक्चरमा रहेको उत्पादन प्लान्टबाट उक्त उड्ने कारको उत्पादन सुरु भएको हो ।
उक्त प्लान्टबाट वार्षिक १०० वटा उड्ने कार उत्पादन हुने बताइएको छ । फुल्ली इलेक्ट्रीक अटोनोमस तथा भर्टिकल टेकअफ र ल्याण्डीङ क्षमता भएको यी कारलाई एड्भान्स एयर मोविलीटी वा अर्वान एयर मोविलीटी समेत भन्ने गरिएको छ ।
गत वर्षको जुनमा सुजुकी र स्काई ड्राइभको सहायक कम्पनी स्काई वर्क इंकका बीच उड्ने कार उत्पादन गर्ने बिषयमा सम्झौंता भएको थियो । कम्पनीले निर्माण गरेको उड्ने कारमा तीन सीट रहेको छ ।
हेलिकप्टर जस्तो फ्ङ्सन रहेको कारलाई कुनै पनि स्थानबाट भर्टिकल टेकअफ र ल्याण्डिङ गर्न सकिने छ । यसलाई निकट भविष्यमा एयर ट्याक्सीको रुपमा प्रयोग गरिने कम्पनीको दावी छ ।
इलेक्ट्रीक फ्लाइङ कार सन् २०१७ मै पाल भी लीवर्टी नामको कम्पनीले बनाएको थियो । यो कार उक्त समयमा ४ लाख २५ हजार पाउण्डमा बिक्री भएको थियो । कोरियन कार मेकर हुन्डाईले पनि यस्तै कारको कन्सेप्ट देखाएको छ । कम्पनीले सन् २०२८ सम्ममा प्यासन्जर सहित उडान गर्ने योजना बनाएको छ ।

