काठमाडौं । चिनियाँ अटोमोबाइल कम्पनी ग्रेट वाल मोटर (जीडब्लूएम)ले आफ्नो विद्युतीय ब्राण्ड ओराको एलेक्ट्रीक एसयूभी ओरा फाइभ प्लग इन हाइब्रिड पावरट्रेनमा पनि ल्याउने भएको छ ।
ओराको पहिलो प्लग इन हाइब्रिड (पीएचईभी) मोडलको विवरण सार्वजनिक भएको हो । चीनको उद्योग तथा सूचना प्रविधि मन्त्रालयमा दर्ता भएको फाइल अनुसार कम्पनीले ‘ओरा फाइभ जीटी’ नयाँ पीएचईभी मोडल ल्याउने भएको हो ।
यससँगै ओरा ब्राण्डले औपचारिक रूपमा प्लग इन हाइब्रिड बजारमा पनि प्रवेश गरेको छ । नयाँ ओरा फाइभ जीटीमा फराकिलो बुट स्पेस र अहिलेकोभन्दा लामो साइजमा आउने भएको छ ।
कम्प्याक्ट एसयूभी सेग्मेन्टमा निर्मित ओरा फाइभ जीटीको लम्बाइ ४७५८ एमएम, चौडाइ भेरियन्ट अनुसार १८३३ एमएम वा १८४४ एमएम र उचाइ १६३० एमएम छ । यसमा २७२० एमएमको ह्वीलबेस पाउन सकिन्छ ।
५ जना यात्रु सहजै बस्न सक्ने गरी यसको इन्टेरियर तयार पारिएको छ । यसको अगाडिको डिजाइन ओरा फाइभसँग मिल्दोजुल्दो भए पनि पछाडिको भागमा आधुनिक थ्रु टाइप टेललाइट र जीडब्लूएमको ब्राण्डिङ राखिएको छ।
दर्ता विवरणका अनुसार यो गाडीमा ‘एचआइ २’ पावर प्रविधि प्रयोग गरिएको छ । जसले ओराको प्लग इन हाइब्रिड उत्पादन पोर्टफोलियोमा रहेको कमीलाई प्रभावकारी रूपमा पूरा गर्दछ।
मन्त्रालयको विवरण अनुसार यो गाडीमा उच्चस्तरीय ड्राइभिङ सुरक्षा र आधुनिक फिचर दिइने छ । यसको माथिल्लो भेरियन्टमा एडासको साथमा लाइडार, अगाडि र साइड राडार, साइडभ्यू क्यामेराहरू उपलब्ध हुनेछन् । साथै, नन प्यानोरामिक रुफ, सजावटी विन्डो ट्रिम र ओआरभीएम डिजाइन जस्ता कस्टमाइजेशनका विकल्प पनि दिइएको छ।
ओरा फाइभ जीटीमा १.५ लिटरको जीडब्लू४बी१५ एम टर्बो चाज्र्ड इन्जिन रहेको छ । जसले १५४ हर्सपावर शक्ति प्रदान गर्दछ । यसको अधिकतम स्पीड प्रतिघण्टा १९० किलोमिटर रहेको छ ।
सामान्यतया ग्रेट वाल मोटरले आफ्ना गाडीहरूमा आफ्नै सहायक कम्पनी एसभोल्टको ब्याट्री प्रयोग गर्दै आएको छ । तर, नयाँ हाइब्रिड मोडलमा भने विश्व प्रसिद्ध ब्याट्री निर्माता कम्पनी सीएटीएलको लिथियम आइरन फस्फेट ब्याट्री प्रयोग गरिएको छ, जसलाई गाडीको मुख्य आकर्षणका रूपमा हेरिएको छ ।


