काठमाडौं । ग्रेटवाल मोटर्सको इलेक्ट्रीक ब्राण्ड ओरा नेपाल आउने घोषणा भएको छ । ग्रेटवाल मोटर्सको आधिकारीक लञ्चिङ कार्यक्रममा इलेक्ट्रीक ब्राण्ड ओरा पनि नेपाल आउने घोषणा भिजी इम्पेक्सले गरेको हो ।
कम्पनीले सन् २०२१ को अन्त्यसम्ममा ओरा ब्राण्ड नेपाल आउने जनाएको छ । यद्यपी नयाँ गाडीको मूल्यको विषयमा कम्पनीले तत्कालै केही भन्न नसक्ने अवस्था रहेको जनाएको छ ।
‘चीनमा उपलब्ध ओरामा सरकारले अनुदान दिएकाले कम मूल्य भएको हो । नेपाल सरकारले अनुदान नदिएपनि करका दर कम गरेकाले सहज वातावरण बनेको छ’, कम्पनीका कार्यकारी निर्देशक शुसिल गुप्ताले भने ।
गुप्ताका अनुसार ग्रेटवाल मोटर्सले ओरा आर १ राइट ह्याण्ड ड्राइभ उत्पादनको चरणमा रहेकाले चाँडै नेपाल ल्याउने तयारी गरेको जानकारी दिए ।
ओरको आर-१ इभीमा ३३ किलोवाट आवरको लिथियम आयोन ब्याट्री प्याक दिइएको छ । ३३ किलोवाट कै इलेक्ट्रीक मोटर जडान गरिएको आर-१ प्रतिघण्टा १०० किलोमिटरको रफ्तारमा कुदाउन सकिने छ । एक पटकको फुलचार्जमा ३५१ किलोमिटरको दुरी तय गर्ने ओरा आर १ मूल्यकै कारण चर्चामा रहेको मोडल हो । अन्तर्राष्ट्रिय बजारमा यसको मूल्य ६ हजार डलर हाराहारीमा रहेको छ ।
ओरा आर-१ मा ९.० इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम दिइएको छ भने कनेक्टेड कार टेक्नोलोजी, टायर प्रेशर मोनिटरिङ सिस्टम, रिभर्स पार्किङ सेन्सर जस्ता फिचरले यसलाई उत्कृष्ट बनाएको छ ।

