ओनरसीप रिभ्यूः RTR 160 4V मा १० हजार किलोमिटर, ‘भ्यालु फर मनी’

काठमाडौं । हाल नेपाली बजारमा मोटरसाइकलको उपलब्धता बढ्दो छ । अन्र्तराष्ट्रिय बजारमा सार्वजनिक हुनभन्दा पहिला नै नेपाली बजारमा समेत मोटरसाइकल उपलब्ध हुन थालेका छन् । बजाज टीभीएस जस्ता कम्पनीले नेपालमा नै एसेम्वल प्लान्ट लगाएर मोटरसाइकल एसेम्वल गर्न सुरु गरेका छन् ।

केही समय पहिला नेपाली बजारमा १५० सीसी मोटरसाइकलको क्रेज एमदमै बढी थियो । अहिले भने सडक फराकिला हुँदै गएका छन् भने युवाहरुमा राइडिङ कल्चर विकास हुँदै गएको छ । यी कुराले गर्दा नेपाली बजारको ट्रेन्ड अब पावरफुल मोटरसाइकलमा गइरहेको अनुमान गर्न सकिन्छ ।

युवाहरु ग्रुप बनाएर राइडिङमा जाने र लामोभन्दा लामो यात्रा पनि मोटरसाइकलमा गर्ने ट्रेन्डको पारखी बन्दै छन् । यही क्रममा नेपाली बजारमा हाल १५० सीसी सेग्मेन्टमा सफल भइरहेको मोटरसाइकल टीभीएस आरटीआर १६० ४ भी मोटरसाइकललाई १० हजार किलोमिटर चलाए पश्चात यसको राम्रो तथा नराम्रो पक्षलाई केही विस्तार गर्ने मैले जमर्को गरेको छु ।

नेपालमा आक्रामक बजार बिस्तार गरिरहेको टीभीएसको आधिकारीक वितरक जगदम्वा मोटर्सले गत नाडा अटो शोमा टीभीएस अपाचे आरटीआर १६० ४ भी सार्वजनिक गरेको थियो । मैलेपनि तत्कालै उक्त मोटरसाइकल किन्ने सोच बनाए । कारण थियो झट्ट हेर्दा आरटीआर २०० जस्तो देखिने यो मोटरसाइकल अपाचे आरटीआर २०० कै सिब्लिङ (भाइबहिनी) मोडल हो । 

यसको आर्कषक लुक्सले मलाई तान्यो र केही बिशेषता बुझे पश्चात् किन्ने निधो गरेको थिए । निधो भएकै दिन शोरुममा गएर मोटरसाइकल लिए । करिब तीन दिनमै ५०० किलोमिटर चलाएर सर्भिसिङमा लगेपछि मोटरसाइकलमा केही समस्या देखियो ।

समस्या थियो इन्जिन असामान्य रुपमा तात्ने, आवाज खराव आउने, पिकअप कम हुने । सर्भिसमा काम गरिरहेका सर्भिस हेडसँग भेटर बनाए पश्चात ती सबै समस्या समाधान भए ।

पहिलो लामो यात्रा

मैले मोटरसाइकल किनेपछि गरेको पहिलो लामो यात्रा थियो जिरी । साथीसँगको सल्लाहमा अचानक जिरी जाने प्लान बनाएर हामी काठमाडौंबाट निस्कियौँ । मसँग १६० फोर भी थियो भने साथीसँग अर्को ब्राण्डको २५० सीसी क्षमताको मोटरसाइकल थियो ।

हामीले बनेपा, धुलिखेल, दोलालघाट, खाडिचौर, मुडे, चरिकोट, तामाकोशी हुँदै जिरी जानु थियो । काठमाडौंदेखि खाँडीचौरसम्मको यात्रा असाध्यै सहज थियो । भक्तपुरको बाटोमा यसअघि नै १६० फोर भी ११९ को स्पीडमा कुदाइसकेको थिए ।

खाँडीचौरदेखि सुरु भयो पिडादायी यात्रा । त्यो समय यो रुटमा खासै सवारीसाधन नगुड्ने रहेछ । सडकको दुर्दसा नै थियो । फोर ह्वील भएका सवारीसाधन मात्र जानसक्ने अबस्था थियो । खाँडीचौरदेखि चरिकोटसम्मको यात्रा लगभग ५ घन्टा लागेको थियो । सँगै रहेको २५० सीसीसँग कुनै सम्झौँता नगरि आरटीआर १६० ४ भी जिरी पुगेको थियो ।

त्यस पश्चात यो मोटरसाइकलले ममा छुट्टै कन्फिडेन्स दियो । अफरोड राइडका लागि जटिल सडकका रुपमा परिचित रसुवागढी, काभ्रेको बेथानचोक, नव निर्मित चापागाँउ–हेटौडा, थानकोट–चित्लाङ जस्ता क्षेत्रमा यो मोटरसाइकल लिएर मैले यात्रा गरे । यस मोटरसाइकलले सहरी क्षेत्रमा मात्र होइन उच्च अफरोडमा समेत पर्फमेन्स गरेको छ ।

यसका सबल पक्ष

१५० सीसी सेग्मेन्टमा रहेको यो मोटरसाइलकमा धेरै राम्रा पक्ष रहेका छन् । १६० सीसी इन्जिन रहेको यो मोटरसाइकलको मूल्य १५० सीसीसँग प्रतिस्पर्धी रहेको छ । यो सेग्मेन्टमा आर १५ भी ३ पश्चात उच्च पावर रहेको मोटरसाइल यही हो ।

नेपालमा हुने रेसिङ प्रतियोगितामा भाग लिएर १६० फोरभी विजेतासमेत भइसकेको छ । यसको उच्च गति आधिकारिक ११३ भनिएता पनि १२० किलोमिटर प्रतिघन्टाको स्पीडमा कुदाउन सकिन्छ ।

यसको अर्को आकर्षक पक्ष लुक्स हो, एमदमै स्पोर्टी लुक्सले बाइक पारखीलाई लोभ्याउँछ । यसमा रहेको फुल डिजिटल इन्सट्रुमेन्ट कल्स्टरमा विभिन्न फिचर रहेको छन् ।

यसमा लो फ्यूल वार्निङ, ट्रिप मिटर काउन्ट, हाइस्पीड रेकर्ड, हाइ आरपीएम अर्लट जस्ता फिचरले सहज बनाएको छ । यसको ब्रेकिङमा डबल डिस्क कम्बीनेसनले यसको उच्च गतिलाई सहजरुपमा कन्ट्रोल गर्न सक्छ ।

यसको रियर सस्पेन्सन रेस्पोन्सिप रेहेको छ । उत्कृष्ट ह्यान्डलबार र सहज सिटिङ पोजिशनले यसमा लामो यात्रा गर्नसमेत सहज रहेको छ । यसको ग्राउन्ड क्लियरेन्स समेत अफरोड सुहाउँदो रहेको छ ।

कमजोर पक्ष

जुनसुकै बस्तु तथा चिजका राम्रोसँगै केही नराम्रो पक्षसमेत रहेको हुन्छन् । यस्तै आपाचे आरटीआर १६० फोर भीका समेत केही कमजोरी रहेका छन् । यो मोटरसाइकलको माइलेज अपेक्षितभन्दा कम रहेको पाइएको छ ।

कम्पनीले ४० किलोमिटर माइलेज दिने दाबी गरेतापनि सहरी क्षेत्रमा यो मोटरसाइकलले २८-३० किलोमिटर प्रतिलिटर मात्र माइलेज दिन्छ । हाइवेमा भने ३५ किलोमिटरसम्म माइलेज पाएको छु ।

यसको अर्को नराम्रो पक्ष भनेको यसको हेडलाइट हो । रातीको समयमा यसको हेडलाइटको भिजिबलिटी अत्यन्त कम रहेको छ । यसको धेरै कम्प्लेन आएपछि कम्पनीले केही दिनअघि भारतमा सार्वजनिक गरेको १६० फोरभीमा हेडलाइट परिवर्तन गरेको छ ।

मर्मत खर्च

मोटरसाइकल किन्नु नै मूख्य खर्च होइन । यसलाई संचालनमा ल्याउँदा गर्नु पर्ने मर्मत सबैभन्दा ठूलो हो । यो मोटरसाइकल नियमित सर्भिसिङ गर्ने बाहेक १० हजार किलोमिटर पुरा गर्दा अन्य खर्च आउको छैन ।

पहिलो बर्षमा सर्भिसिङ लगभग सबै नै फ्रि रहेको हुन्छ । इन्जिन आयल, फिल्टर जस्ता कुरमा सामान्य मात्र खर्च आउँछ । यसमा प्रयोग हुने इन्जिन आयलले एक पटक परिर्वतन गर्दा २५०० किलोमिटरसम्म मोटरसाइकल गुडाउन सकिन्छ ।  

हालसम्म मेरो मोटरसाइकलमा एउटा फुटपेग, एक साइडको लुकिङ ग्लास र दुई पटक रियर डिस्क प्याड र एयर फिल्टर बाहेक अन्य पार्टस परिर्वतन गरिएको छैन । धेरै जसो अफरोडमा चलाएतापनि १० हजार किलोमिटरसम्म चेन स्र्पोकेट, क्लच प्लेट, थ्रोटल वायर जस्ता पार्टसमा कुनै समस्या देखिएको छैन् ।

(राइडर मेरोअटो डटकमका मोटरसाइकल न्यूज चिफ हुन्)


Back_to_top