पेट्रोलको खपत झण्डै दोब्बरले बढ्यो

काठमाडौं । पेट्रोल र डिजेलको खपत ह्वात्तै बढेको छ । नजिकिँदो निर्वाचन, होली र लामो सार्वजनिक बिदाका कारण इन्धनको खपत ह्वात्तै बढेको हो ।

नेपाल आयल निगमका अनुसार आइतबार पेट्रोलको खपत झण्डै दोब्बरले बढेको छ ।

निगमका अनुसार सामान्य अवस्थामा दैनिक औसतमा २५०० किलोलिटर पेट्रोल खपत हुँदै आएकोमा आइतबार एकैदिन ४७०० किलोकिटर खपत भएको हो ।

आइतबार सामान्य अवस्थाकोभन्दा २२०० किलोलिटर अर्थात् ८८ प्रतिशत बढी पेट्रोल खपत भएको निगमले जनाएको छ ।

पेट्रोलको उच्च मागका कारण आइतबार पेट्रोल पम्पहरूमा सवारी साधनको लामो लाइन समेत लागेको थियो ।

त्यस्तै, आइतबार डिजेलको खपत पनि ५० प्रतिशतले बढेको छ । सामान्य अवस्थामा दैनिक ४ हजार किलोलिटर डिजेल खपत हुँदै आएकोमा आइतबार ६ हजार किलोलिटर पुगेको हो ।

इन्धनको खपत बढेसँगै निगमले बिदाका दिनमा पनि आफ्ना डिपोहरू निरन्तर खुला राखेको छ । साथै, निगमले भारतबाट पेट्रोलियम पद्धार्थ नियमित रूपमा आयात भइरहेकाले स्टक नराख्न सर्वसाधरणमा आग्रह समेत गरेको छ ।

 


Back_to_top