‘प्लगइन हाइब्रिड’ कारको मूल्य पनि बढ्ने

काठमाडौं । सरकारले जेठ १५ गते सार्वजनिक गरेको आगामी आर्थिक वर्षको बजेटले प्लगइन हाइब्रिड कारको अन्तःशुल्कमा वृद्धि गरेको छ । सरकारले यसअघि लगाउँदै आएको ४० प्रतिशत अन्तःशुल्कलाई ५ प्रतिशतले बढाएर ४५ प्रतिशत बनाएको कारण अब आउने हाइब्रिड कारको मूल्य बढ्ने भएको हो ।

बजारमा विभिन्न किसिमका हाइब्रिड कार उपलब्ध रहेको कारण आर्थिक विधेयकमा स्पार्क–इग्नीसन इन्टरनल कम्बस्चन पिष्टोन इन्जिन र धक्का दिने बिद्युतीय शक्तिको बाह्य स्रोतमा प्लग जोडर चार्ज हुन सक्ने किसिमका गाडीमा ४५ प्रतिशत अन्तःशुल्क लाग्ने उल्लेख छ ।

अहिले बजारमा मित्शुबीसी, ल्याण्डरोभर, बिएमडब्लू लगायतका ब्राण्डले प्लगइन हाइब्रिड कार विक्री वितरण गर्दै आएका छन् । सरकारले विद्युतीय कारमा कर बढाएको कारण ३०० किलोवाट क्षमताका मोटर भएका कारमा भन्दा प्लगइन हाइब्रिड कारको अन्तःशुल्क १५ प्रतिशतले कम रहेको छ । अहिले ३०० किलोवाट मोटर क्षमताका कारमा ६० प्रतिशत अन्तःशुल्क लाग्छ ।


Back_to_top