काठमाडौं । भारतका केन्द्रिय बाणिज्य मन्त्री पियुष गोयलले तत्काल चिनियाँ ब्राण्ड बीवाइडीलाई लगानी गर्ने अनुमति दिन नसकिने बताएका छन् । ‘इन्डिया ग्लोवल फोरम’मा बोल्दै मन्त्री गोयलले देशको रणनीति र सुरक्षा हितलाई ध्यानमा राखेर लगानी गर्न दिने वा नदिने भन्ने विषयमा निर्णय गर्नु पर्ने बताए ।
‘अहिल्यै बीवाइडीलाई लगानीको ढोका खुल्ला छैन । उनिहरुले हाम्रो आवश्यकता अनुसारको काम गर्ने कुरामा विश्वस्त बनाउन सकेपछि मात्रै सोच्न सकिन्छ । अहिले विश्वका तेस्रो देशमा उनिहरुको भूमिका हामीले देखिरहेका छौं’, मन्त्री गोयलले भने ।
बीवाइडीले भारतमा १० अर्ब डलर लगानी प्रस्ताव गरेको समाचारहरु बाहिर आएसँगै यस विषयमा टिका टिप्पणी भइरहेका छन् । उता, चिनियाँ कम्पनीले पनि विच्याटमा पोष्ट गर्दै आफुहरुले लगानी प्रस्ताव नगरेको जनाएको छ ।
विगत लामो समयदेखि भारतमा रहेपनि बीवाइडीले घरेलु उत्पादन सुविधा पाउन सकेको छैन । अहिले पनि चीनबाट आयात गरेर गाडी बिक्री हुँदै आएको छ ।
चिनियाँ जाइन्टले विगत दुई वर्षदेखि भारतमा उत्पादन गर्ने प्रयास गरिरहेको छ । कम्पनीले २०२३ मा मेघा इन्जिनियरिङ एण्ड इन्फ्रास्ट्रक्चर्स लिमिटेडसँग मिलेर १ अर्ब अमेरिकी डलर लगानी प्रस्ताव गरेको थियो । त्यतिवेला पनि सरकारले उसलाई स्विकृति दिएको थिएन ।


